Main News

आजबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदै

हिमालय टिभी
२०७७ फागुन २३ गते ८:५९
आजबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदै

२३ फागुन २०७७ काठमाडौं । सरकारले आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गर्ने भएको छ ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिकालाई कोरोनाविरुद्धको खोप लगाइनेछ । दोस्रो चरणको खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाउनुहुनेछ । यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि सरकारले खोप तालिका परिवर्तन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि देशभर ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड नामक खोप अहिले चरणवद्ध रुपले मानिसहरुलाई लगाउँदै आएको छ ।

सरकारले शुरु गरेको कोरोना विरुद्धको खोप अभियानमा सहभागि भएकामध्ये कसैलाई पनि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । सरकार र विज्ञहरुले बारम्बार कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकाले सबैलाई निर्धक्कसाथ कोरोना विरुद्धको खोप लगाउन अपिल गर्दै आएको छ ।

यसैबीच, सरकारले कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल ल्याउँदैछ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आज बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको हो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *