राजनीति

संसदमा आफ्नो पक्षमा बहुमत रहेको ओली समूहको दाबी, अविश्वासको प्रस्ताव आए सामना गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १७:०६
संसदमा आफ्नो पक्षमा बहुमत रहेको ओली समूहको दाबी, अविश्वासको  प्रस्ताव आए सामना गर्ने (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १ सय १५ जना सांसद भएको र यो संख्या बढेर जाने भएकाले सांसदहरुलाई उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिनुभएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

सरकार देश र जनताको पक्षमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफुहरुकै जित हुने बताउनुभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ ।

उहाँले भन्नुभयो –‘संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बस्यो । आज हामी असाध्यै उत्साहप्रद रुपमा बैठक सम्पन्न गरेका छौँ । र बैठकमा संख्यात्मक हिसाबले १ सय १५ भन्दा बढीको उपस्थिति भएको छ । २४ जना राष्ट्रिय सभाका सदस्यहरु उपस्थित हुनुहुन्छ र केही राष्ट्रिय सभा सदस्यहरुले हामी भोलि उपस्थित हुन्छौँ भनेर उहाँहरु बाहिर भएका कारणले केही उपस्थित हुन सक्नुभएको छैन । ९१ जना प्रतिनिधि सभाका सदस्यहरु उपस्थित हुनु भो । १ सय १५ जनाको उपस्थिति आज रहेको छ । केही आउँदै पनि हुनुहुन्छ । अहिले पनि बाटोमै हुनुहुन्छ । हामी असाध्यै उत्साहजनक हिसाबले यो बैठक सम्पन्न ग¥यौँ । प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा चाहीँ आज हामी यहाँ १ सय १५ जना उपस्थिति भयौँ भोलि यो संख्या बढ्छ । यो संख्या बढेर जान्छ । यो देशको पक्षमा, जनताको पक्षमा हामी लागिराखेका छौँ । सरकार त्यस हिसाबले चलिराछ । हाम्रो संसदीय दल त्यस हिसाबले क्रियाशील छ । त्यसोभएको हुनाले उत्साहजनक हिसाबले अगाडी बढौँ । हामी देश र जनताको पक्षमा छौँ । जित हाम्रो हुन्छ । ढुक्क भएर अगाडी बढौँ भनेर उहाँले सम्बोधन गर्नुभयो ।’

प्रमुख सचेतक भट्टराईले संसदमा अविश्वासको प्रस्ताव पास नहुने भएकाले अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अविश्वासको प्रस्तावको कुरा कसले ल्याउने भनेको छ त्यो हामीलाई जानकारी छैन । तर अविश्वासको प्रस्ताव आए पनि, जे आएपनि मेरो विचारमा त्यो अविश्वासको प्रस्ताव अहिलेको स्थितिमा जसरी सरकार अगाडी बढिराछ त्यस हिसाबले चाहिँ त्यो अविश्वासको प्रस्ताव पास हुने त कुरै छैन । कसैले हिम्मत गर्छ भन्ने मलाइ लाग्दैन ।’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को संसदीय दल विभाजित नभएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । कानूनी हिसाबले संसदीय दल विभाजन हुन कठिन भएको भन्दै उहाँले आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु समयक्रममा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अलिकति नेता र अलिकति केही उहाँहरु अर्को हिसाबले हिँडिराख्नु भाको छ । तर नेपाल कम्युनिष्ट पार्टी नेकपा, हाम्रो संसदीय दल र हाम्रो सरकार यो क्रियाशील अवस्थामा छ । त्यो विभाजित अवस्थामा छैन । संगठित रुपमा नै त्यो अगाडी बढिराछ । त्यसकारणले जो जो बाहिर हिडिरहनु भाछ नेताहरु मेरो विचारमा उहाँहरुले पनि गल्ती कमजोरी महशुस गरेर फर्किनुहुन्छ भन्ने लाग्छ मलाई । समयक्रममा केही ढिला हुनसक्छ कतिपय मानिसहरु भोलि फर्किन सक्नुहुन्छ कतिपय मानिसहरुलाई केही ढिला हुनसक्छ तर यो आन्दोलन संगठित रुपमानै अगाडी बढ्छ भन्ने मेरो विश्वास छ । कानूनी हिसाबले विभाजन हुने कुरा धेरै कठिन कुरा छ । राजनीतिक व्यवहारिक रुपमा केही नेताहरु र केही कार्यकर्ताहरु बाहिर भएको स्थिति छ । यो आन्दोलनभन्दा अलिकति पृथक ढंगले चल्न खोजेको स्थिति छ । तर समयक्रममा उहाँहरुले पनि बुझेर यही आन्दोलनमा जोडिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

शुक्रबार नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेको थियो भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

आजको ओली पक्षीय संसदीय दलको बैठकले पनि आफ्नो पक्षमा सांसदहरुको बहुमत रहेको दाबी गरेको छ । प्रतिनिधि सभाको बैठक २३ गते अपरान्ह ४ बजे बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्