Main News

विप्लव नेकपा मूलधारमा आयो, हिंसा अन्त्य भयो : प्रधानमन्त्री (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते २०:०५
विप्लव नेकपा मूलधारमा आयो, हिंसा अन्त्य भयो : प्रधानमन्त्री (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बुँदे सहमतिसँगै विप्लव नेतृत्वको नेकपा राष्ट्रिय राजनीतिको मूलधारमा आएको र नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गर्नुभएको छ । सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्रीले तीन बुँदेको व्याख्या गर्नुभएको हो ।

शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने तीन बुँदे सहमतिको विस्तृत व्याख्या छैन । नेकपाका महासचिव विप्लवले पनि त्यसबारे खासै प्रष्ट पार्नु भएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसको विस्तृत व्याख्या गर्दै भन्नुभयो सहमति सँगै विप्लव नेतृत्वको नेकपा अहिलेको संसदीय व्यवस्थाको राजनीति अर्थात उहाँकै शब्दमा मूलधारको राजनीतिमा आयो । जहाँ प्रधानमन्त्रीले विप्लवलाई खुलेर स्वागत गर्नुभयो ।

विप्लवले शान्तिपूर्ण राजनीतिमा आएको त स्वीकार्नुभयो तर संसदीय राजनीतिमा भाग लिने कि नलिने भन्ने प्रष्ट पार्नुभएन, तर प्रधानमन्त्रीका अनुसार सहमतिको पेट बोली यही हो । र, यसै अनुसार विप्लवले नभनेपनि विप्लव नेकपाले हिंसा छोडेको छ । र, अब नेपालमा हिंसात्मक द्वन्द्व नेपालमा छैन । तर विप्लव नेकपासँग रहेको हतियारबारे न विप्लवले बोल्नुभयो, न प्रधानमन्त्रीले नै ।

प्रधानमन्त्रीले सीके राउतलाई पृथकतावादी आन्दोलन र विप्लवलाई हिंसाको राजनीति छोडाएर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको दावी गर्नुभयो । किनकी सहमतिको व्याख्या यही हो । विप्लवले अहिलेको व्यवस्थालाई दलाल संसदीय व्यवस्था भनेर यसलाई फाल्ने कि राख्ने भनेर जनताको मत लिनुपर्ने माग गरेपनि प्रधानमन्त्रीले त्यसबारे केही बोल्नुभएन । तर विप्लवको राजनीतिक कार्यदिशा फेरिएको र त्यसका लागि विप्लवको आँट गरेको भन्दै प्रशंसा गर्नुभयो ।

एउटै मञ्चमा सहमतिका बारेमा प्रधानमन्त्रीको प्रष्टता र विप्लवको मौनता देखिएको छ, जुन असहज जस्तो लागेको छ । तर गरेको सहमतिमा दुवै पक्ष ईमान्दार भएर लाग्नु जरुरी छ । किनकी सहमतिलाई दुवैले देश र जनताका लागि भनेका छन । त्यसैले यसलाई छलछामको विषय नबनाइयोस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *