Main News

विप्लवले भने–परिस्थिति फेरियो–अब जनमत संग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते १९:५९
विप्लवले भने–परिस्थिति फेरियो–अब जनमत संग्रह (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । तीन बुँदे सहमतिसँगै नेपाल कम्यूनिष्ट पार्टी नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । नेकपाका महासचिव विप्लवले सार्वजनिक समारोहबाटै शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता जनाउनुभएको छ ।

०६९ मा प्रचण्ड र ७१ मा मोहन वैद्यलाई छोडेर संसदीय व्यवस्था फाल्न हिंडेका विप्लवका अनुसार अहिले परिस्थितिमा फेरबदल आयो त्यसैले शान्तिपूर्ण राजनीतिको बाटो रोजियो । अब कसरी अघि बढ्ने भन्ने विप्लवले केही त बताउनु भएन तर संसदीय व्यवस्था राख्ने कि फाल्ने भनेर जनमत लिनुपर्ने आफ्नो पार्टीको नयाँ नारा सार्वजनिक गर्नुभयो ।

यसरी राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पछि पछि छिरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको घोषणा भयो । सहमतिको पहिलो बुँदामा राजनीतिक समस्या वार्ता र संवादका माध्यमबाट समाधान गर्ने उल्लेख छ । दोस्रो बुँदा अनुसार नेकपा शान्तिपूर्ण राजनीति गर्न सहमत भएको छ ।

यो सत्ता पल्टाउँछु भन्दै हिंसात्मक गतिविधि गरिरहेको नेकपा किन यसमा सहमत भयो त रु उहाँका अनुसार सरकार आफ्ना मागप्रति सकारात्मक छ त्यसैले पार्टी शान्तिपूर्ण राजनीतिमा आएको छ र पूर्ण प्रतिवद्धताका साथ आएको छ ।

जसरी सहमतिको विस्तृत विवरण आउँछ भन्ने अपेक्षा थियो, त्यसरी कुनै नयाँ कुरा आएन र हिजो सार्वजनिक भएका विषय बुँदागत रुपमा मात्रै बाहिर ल्याईयो । तर तीन बुँदे सहमतिमा नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना रहेको विप्लवको व्याख्या छ ।

धेरको चासो थियो र छ अब विप्लव नेकपा कसरी अघि बढ्छ रु कुन कार्यदिशा र कार्यक्रम लिएर अघि बढ्छ । सहमतिमा समस्याको समाधान वार्ता र संवादका माध्यमबाट गर्ने र शान्तिपूर्ण राजनीति भन्ने बाहेक प्रष्ट केही लेखिएको छैन ।

तर अब अहिलेको संसदीय व्यवस्थामाथि शान्तिपूर्ण राजनीति गरेर प्रश्न उठाउने र जनमत संग्रहको मागलाई बहसमा लैजाने नेकपाको योजना देखिन्छ । त्यसका लागि विप्लवले ससदीय व्यवस्था राख्ने कि नराख्ने भनेर छान्ने मौका दिनुपर्ने माग गर्नुभयो ।

यसअघिका सार्वजनिक कार्यक्रममा निकै आक्रामक अभिव्यक्ति दिने विप्लव आज निकै नरम देखिनुभयो । उहाँमा खासै उत्साह पनि थिएन । मञ्चमा बस्दा उहाँको अनुहार मलिन देखिएको थियो । त्यसको कारण विप्लव आफैलाई थाहा होला, तर भाव भंगिमाले भने उहाँ असहज अवस्थामा रहेको अनुमान गर्न सकिन्छ । समय क्रममा त्यसको भित्री कारण खुल्दै जाला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *