राजनीति

सहमति गरेर सार्वजनिक हुँदै गर्दा के भने विप्लवले ?

हिमालय टिभी
२०७७ फागुन २१ गते १७:१३
सहमति गरेर सार्वजनिक हुँदै गर्दा के भने विप्लवले ?

२१ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमति पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको हो ।

आफ्नो पार्टीले सहमति पालन गर्ने भन्दै उहाँले कसैले पनि आशंका गर्न आवश्यक नरहेको बताउनुभयो । कम्युनिष्टहरु आफ्नो मान्यता देशमाथि हस्तक्षेप भएको महशुस हुँदा विद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भूमिका पुरा गरेको स्थितिमा कम्युनिष्टहरु शान्तिको दूत बन्ने पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो –‘हामी कम्युनिष्ट जतिबेला अन्याय हुन्छ । जतिबेला आफ्ना मान्यताहरु माथि हमला भएको महशुस हुन्छ । आफ्नो देशमाथि अतिक्रमण भएको वा कसैले हस्तक्षेप गरेको अनुभुति हुन्छ । उनीहरु विद्रोह गर्छन् । हामी कम्युनिष्टहरु हाम्रा मान्यताहरुमाथि हमला हुँदा हाम्रा आकांक्षामाथि हमला हुदाँखेरी, हाम्रो देशमाथि धावा हुँदा, हाम्रो देशमाथि कसैले अलिकति गिद्दे दृष्टि लाउँदा हामी विद्रोह गर्छौ । हामी विद्रोह गर्ने मान्छेहरु हौ र विद्रोह गर्दै अहिलेसम्म आएका छौँ । तर कम्युनिष्टहरु विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ । परिस्थिति बदलिएको स्थिति भएर राज्यले आफ्नो भूमिका पुरा गरेको स्थितिमा कम्युनिष्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धा मात्रै होइन शान्तिका दूत पनि संसारमा कोही छन् भने कम्युनिष्टहरु नै छन् । सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालिन ढंगले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, दृष्टिकोण र आकांक्षा कहिँ छ भने त्यो कम्युनिष्ट आन्दोलनसँग छ । त्यो हामीलाई विश्वास छ । त्यसैले त्यो आकांक्षासहित हामीले संघर्ष गरेका छौँ । र आजको परिवेश बदलिएपछि हामीले भनेका छौँ, तीन बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ । यसलाई हामी पालना गर्छौ । यसलाई हामी दृढतापूर्वक भन्छौ यहाँ कसैले पनि कहिँबाट पनि आशंका या विभिन्न ढंगले यसलाई उत्तेजनात्मक या अर्को ढंगले कुतर्क गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौँ । यसलाई हामी पालना गर्छौ ।’

महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपनासहित सहमति भएको दाबी गर्नुभयो । देशमा शान्ति, स्थिरता र समृद्धिको आकांक्षासहित सहमति गरिएको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो – ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै कुरा होइन । यो सहमति केवल पार्टीको कुरा मात्रै होइन । र केही नेताहरुको कुरा होइन । यो सहमतिको पछाडी हाम्रो त्योभित्र लुकेको एउटा महान आकांक्षा छ । नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधिन र सुन्दर देश बनाउने सपना योभित्र छ । योभित्र देशमा दीर्घ शान्ति, स्थिरता, र नेपाली जनताको अहिलेसम्म पुरा नभएको समृद्धिको आकांक्षा, नेपालको युवाहरुभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहना योभित्र रहेको छ । त्यसैले यसलाई पुरा गर्नको लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त ग¥यौँ हामी खुशी छौँ र हामी धन्यवाद दिन चाहान्छौँ ।’

महासचिव विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताउनुभयो । कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि उहाँले जनताले स्वतन्त्रतापूर्वक कदम चाल्नका लागि जनतालाई जनमतको अधिकार दिनुपर्ने बताउनुभयो । नेपालमा कसैले पनि सुरक्षित महशुस नगरेको तथा नेताहरुले समेत आफैले नेतृत्व गरिरहेको जस्तो अनुभुति नगरेको भन्दै उहाँले जनतालाई मतको अधिकार दिइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामी अहिलेको सरकारसँगको कुरा होइन यो हामी होल नेपालको एउटा राजनीतिक रुपान्तरणको प्रक्रियामा जे जति छलफल र बहसहरु भए त्यसमा हामी सहमत हुन सकेनौँ । भएनौँ । र हामीले आफ्नो तर्फबाट एउटा विद्रोह ग¥यौँ । हामी अगाडी बढेकै हो । हाम्रो अहिले पनि भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभुति गर्ने स्थिति छैन । सबै नेताहरुलाई, सबै पार्टीहरुलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफै हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभुति भइराखेको छैन । हरेक घटनाक्रममा एउटा ठुलो तरंग नेपाली जनताको बीचमा छ अहिले पनि छ सायद तपाईहरु सबैले बुझिसक्नुभाछ, झुपडीमा पनि त्यो छ । महलमा पनि छ । शहरमा पनि छ । गाउँमा पनि छ । नयाँ प्रयोग नेपाली इतिहासमा आवश्यक बन्न गएको छ । हामीले भनेका छौँ, जनमत । छलफल हुने पनि गरेको छ जनमत सार्वभौम शक्ति सम्पन्न जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउनु जरुरी छ । के चाहन्छन् जनताले ? के तपाईको यो दलाल पूँजीवादीहरुको चक्रमा सधैँ घुम्नुपर्ने हाम्रो नियति हो ? के नेपाली जनताले कहिल्यैपनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने, कहिलेकाही राज्यले सरकारले चाल्न खोज्दाखेरी पनि नहुने परिस्थिति त बन्यो नि त । यो त हामीले छ्याङ्गै देखेको छौँ नि । जनताले सोच्ने कुरै छैन । सोच्न पाउने ठाउँ नै छैन । कसैले पनि नेपालको बारेमा नजिकबाट अपनत्व ठानेर निर्णय गर्छु भन्दाखेरी नपाउने स्थिति जो नेपालमा बनेको छ । यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटी त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ, हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेपाली जनताले त्यो पाउनुपर्छ । नेता, दल सबैलाई हामीले चुन्यौं। आवश्यक पर्दाखेरी प्रत्यक्ष ढंगले नेपालको भविष्यको बारेमा जनमत दिने फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी हृदयपूर्वक सबैलाई आग्रह गर्न चाहन्छौँ हामी तयार छौँ । युद्धको अन्त्य कसैले गर्छ यो विश्वमा भने कम्युनिष्टले मात्रै गर्छ । कम्युनिष्ट जुन दिन विजय हुन्छ संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । हाम्रो त्यो विश्वास छ ।’

उहाँले सहिदले देखेको परिवर्तनको सपना पुरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । सरकारसँगको सहमतिपछि आफ्ना नेता कार्यकर्ता जेलबाट छुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सहिद परिवारलाई विश्वास दिलाउँ कि हामी जे सपना देखेर यो कम्युनिष्ट आन्दोलनमा लाग्यौँ हाम्रो जीवन बलिदान गर्छौ तर सहिदको सपना मर्न दिदैँनौँ । हाम्रो एउटा त्यो प्रतिबद्धता छ । बेपत्ता योद्धाहरुको कुरा गर्नुस् । हाम्रा घाइतेहरुका कुरा गर्नुस् या नेपालको परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपांग भएर बसिराख्नुभएका हाम्रा योद्धाहरुको कुरा गर्नुस् हामी सबैलाई यतिबेला सम्झिनुपर्छ र सम्मान गर्नुपर्छ । हामी उनीहरुको चाहनालाई पुरा गर्ने एउटा प्रतिबद्धता गर्नुपर्छ । अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरु जेलमा हुनुहुन्छ । छुट्दै पनि आउनुभएको छ । कमरेड कञ्चन यहाँ आइपुग्नुभएको छ छुटेर । र म यहाँबाट उहाँलाई स्वागत गर्नपनि चाहन्छु र हाम्रा धेरै साथीहरु अब सायद छुट्नु हुनेछ र हामी एउटा मुक्त आकाशमा फेरी मिलन हुनेछौँ । हाम्रो विश्वास छ यो बातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी हामी दुवैले एउटा जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ ।’

महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडी बढ्न तयार रहेको स्पष्ट पार्नुभयो । विदेशीले हस्तक्षेप गरेमा जीवन धरतीमा गाडिएपनि सम्झौना नहुने प्रतिबद्धता उहाँको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव दुई बर्ष भन्दा बढी समयपछि शुक्रबार काठमाडौंमा सार्वजनिक हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्