Main News

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्ने

हिमालय टिभी
२०७७ फागुन २१ गते ७:५९
बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्ने

२१ फागुन २०७७ काठमाडौं । बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ ।

गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

१३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ ।

पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगायत हिमाल आरोहण खुला गरेको भए पनि अहिलेसम्म कसैको पनि आवेदन परेको छैन । आउँदो वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।

अनुमति नलिए पनि कतिपय प्रक्रियामा रहेको र बहराइनका राजपरिवारका सदस्य आउने कुरा जानकारीमा आएको उहाँले बताउनुभयो ।

राजपरिवारका सदस्य आरोहणमा आउँदा यसले नेपालमा सुरक्षित पर्वतारोहण रहेको सन्देश जाने भएकाले महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *