Main News

बाइक हरायो ? ट्राफिक प्रहरीले फेला पारे यसरी पाइन्छ फिर्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते ६:१३
बाइक हरायो ? ट्राफिक प्रहरीले फेला पारे यसरी पाइन्छ फिर्ता (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । व्यस्त दैनिकीसँगै दुईपांग्रे सवारी प्रयोग धेरैको रहर मात्र नभएर बाध्यता बन्दै गएको छ । तर दुईपाग्रे सवारीसाधनको चोरी पनि बढ्दो छ । शहरी क्षेत्रमा पार्किङमा राखिएका धेरै मोटरसाइकल र स्कुटर चोरी हुने गरेका छन् । चोरिएका धेरैजसो स्कुटर र मोटर साइकल वर्षौ नभेटिए पनि केही भने फेला पर्ने गरेका छन् । यसरी भेटिएका २७ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले आज सवारी धनीलाई फिर्ता गरेको छ ।

काठमाडौंका सोनामसिंङ ब्लोन राति १० बजे बौद्धमा मोटरसाइकल पार्किङ गरेर सुत्नुभयो । उहाँको मोटर साइकल ट्राफिक प्रहरीले भक्तपुरको जगतीमा फेला पारेर बिहान ब्लोनलाई फोन गर्यो । शुरुमा त ब्लोनलाई पत्यार नै लागेन । उहाँले आफ्नो मोटर साइकल पार्किङ्गमा नै रहेको र त्यो मोटर साइकल नक्कली नम्बरको होला भनेर ट्राफिकलाई भन्नुभयो ।

तर पार्किङ्गमा उहाँको मोटरसाइकल थिएन । जगातीमा भेटिएको मोटरसाइकल ब्लोनकै थियो । उहाँको मोटरसाइकल राति नै उठाएर चोरले जगाति पुर्याँइसकेको थियो । तर पनि ट्राफिक प्रहरीले फेला पारेपछि उहाँले आफ्नो मोटरसाइकल २४ घण्टा मै फिर्ता पाउनुभयो ।

तर सबैजना ब्लोन जतिका भाग्यमानी हुँदैनन् । सोलुखुम्वुका मणिराज बस्नेतको मोटरसाईकल किनेको ३ दिनमै काठमाडौंबाट हरायो । उहाँले बीमा दाबी गर्नुभयो । समयमा नै बीमा भुक्तानीको काम अघि बढेन । २ वर्षपछि बीमा कम्पनीले ट्राफिक प्रहरीकहाँबाट मोटरसाइकल हराएको प्रमाण ल्याउन भन्यो ।

त्यसपछि उहाँ ट्राफिक प्रहरीमा पुग्नुभयो । मोटरसाइकल हराएको अन्तिम प्रमाण लिन ट्राफिक प्रहरीकहाँ पुग्दा उहाँलाई थाहा भयो उहाँको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेको रहेछ । उहाँले हराएको नयाँ मोटरसाइकल २ वर्षमा पाउँदा त्यो थोत्रो भइसकेको छ ।

भक्तपुरका अर्जुनकुमार कार्कीको घरैमा राखेको मोटरसाइकल हरायो, उहाँले मोटरसाइकल खोजीका लागि धेरैतिर धाउनुभयो हण्डर खानुभयो । आफूलाई शंका लागेका मानिस र चोरीका मोटरसाइकलको कारोवार हुने ठाउँको समेत प्रहरीलाई सुराकी दिनुभयो । उहाँको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर फिर्ता पाउनुभयो ।

ट्राफिक प्रहरी महाशाखाले चोर पक्रिन नसकेका सवारीसाधन सिधै धनीलाई दिने गरेको छ । तर चोरसहित पक्राउ परेका सवारी साधनलाई भने प्रहरी वृत्तमा पठाउने र चोरी मुद्दा चलाउने गरेको छ ।

महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइसकिएको तथा चोरीमा संलग्न ४१ जना व्यक्तिहरुलाई पक्राउ गरी कारबाही समेत गरिसकेको छ । ट्राफिक प्रहरीको यो तथ्यांक र यसरी फिर्ता गरेका मोटरसाइकलले शहरी क्षेत्रमा चोरी बढेको पुष्टि हुन्छ । त्यसैले सवारी साधन हराउनबाट जोगिन सवारी धनी आफैं सचेत हुन जरुरी छ ।

दुईपांग्रे सवारी चोरिनु, चोरिएका मध्ये केही भेटिनु र फेलापरेका सवारी प्रहरीले धनीलाई बुझाउनु नियमित जस्तै भइसकेको छ । चोरिनेमा धेरैजसो पल्सर मोटरसाइकल रहेका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *