राजनीति

सरकार र विप्लव नेतृत्वको नेकपाबीचको एकै दिन दुई चरणको वार्ता, यस्ता छन् विप्लवका एजेण्डा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १९ गते १९:१४
सरकार र विप्लव नेतृत्वको नेकपाबीचको एकै दिन दुई चरणको वार्ता, यस्ता छन् विप्लवका एजेण्डा (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता शुरु भएको छ ।

वार्ता टोली गठन भएको २४ घण्टाभित्रै सरकार र प्रतिबन्धित नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको छ । गृहमन्त्री रामबहादुर थापा र डाक्टर राजन भट्टराई तथा विप्लव नेकपाबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउनेबीच आजै दुई चरणमा वार्ता भएको छ ।

वार्तामा नेकपामाथिको प्रतिबन्ध फुकुवा, नेता– कार्यकर्ताको रिहाई, हतियार सम्बन्धी मुद्दा, विप्लव नेकपाको शान्तिपूर्ण राजनीतिमा सहभागिताबारे छलफल भएको छ । विप्लव नेकपाले औपचारिक रुपमा वार्ताका विषयमा नबोले पनि सरकारले वार्ता सकारात्मक रहेको र छिटै निष्कर्षमा पुग्ने जनाएको छ ।

यसबारे सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र सदस्य डाक्टर राजन भट्टराईले सामाजिक सञ्जालमार्फत वार्ता सकारात्मक रहेको र छिटै निष्कर्षमा पुग्ने प्रतिक्रिया दिनुभएको छ ।

बिहान भएको पहिलो वार्ता सकारात्मक दिशा उन्मुख रहेको बताएका सरकारी वार्ता टोली सदस्य डाक्टर भट्टराईले बेलुकी भएको दोस्रो चरणको वार्ता विषय केन्द्रीत भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दावी गर्नुभएको छ ।

वार्ता छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने डाक्टर भट्टराईको अपेक्षा छ । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापाले पनि वार्ताको सुखद परिणाम आउने अपेक्षा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको उल्लेख गर्नुभएको छ । वार्ताका क्रममा विप्लव नेकपाले पार्टीमाथिको प्रतिबन्ध फुकवा, नेता कार्यकर्ता रिहा गरी हतियार सम्बन्धी मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ ।

विश्वास गरेरै बालुवाटार छिरेर वार्तामा बसेकाले आफ्ना तीन माग तुरुन्तै पुरा हुनुपर्ने अडान राखेको छ । सरकारी वार्ता टोलीले सकारात्मक भएको बताइरहँदा यी तीन वटा माग पुरा नहुँदा विश्वासको वातावरण बन्न नसक्ने विप्लव नेकपाको तर्क छ ।

सरकारले माग पुरा गर्न तयार रहेको तर वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागिताका लागि तयार हुन प्रस्ताव राखेको छ । विप्लव नेकपाले भने वैधानिक भन्ने शब्दा राख्दा अहिलेको संसदीय व्यवस्था स्वीकार गरेको अर्थ लाग्ने भन्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भनेर उल्लेख गर्नुपर्ने अडान राखेको छ ।

योसँगै सरकारी वार्ता टोलीले हतियारको विषय पनि उठाएको छ । यसबारे विप्लव नेकपाको वार्ता टोलीले पार्टीमा छलफल गर्ने जवाफ दिएको छ ।

विप्लव नेकपाले वार्ता अघि बढ्दै जाँदा संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबारे जनमत संग्रह र संयुक्त सरकारको प्रस्ताव गर्ने तयारी गरेको छ । वार्ताका क्रममा राष्ट्रियता, जनतन्त्र र जनजीविकाबारे आफ्नो लिखित प्रस्ताव पेश गरिने विप्लव नेकपाका एक नेताले जानकारी दिएका छन ।

उनका अनुसार त्यसमा सरकारको लिखित धारणा मागेर छलफलका लागि जनतामा लगिनेछ ।तर वार्ता टोली गठन भएको अर्को दिन नै प्रधानमन्त्रीको सरकारी निवास भित्रै वार्ता हुनुले अनौपचारिक वार्तामा धेरै विषयमा सहमति भएको हुन सक्ने आँकलन छ ।

विप्लव नेकपाले जनमत संग्रह, संयुक्त सरकार र चुनावको समेत उठाएकोले यसअघि सहमति भएको हुन सक्ने आंकलनलाई बल मिलेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्