निकुञ्जको निर्णयविरुद्ध वायु सेवा सञ्चालकले बुझाए मन्त्रीलाई ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)
१९ फागुन २०७७ काठमाडौं । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाउँदै वायुसेवा सञ्चालकले संरक्षित क्षेत्रमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडाउन पाउनुपर्ने माग गरेका छन् ।
हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकप्टर उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर परेर आर्थिक क्षेत्रमा समेत असर पर्ने र धेरैको रोजगारी समेत गुम्ने संघको चेतावनी छ । ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
ऐन, कानूनको पालना हुनेगरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दै उहाँले सबैलाई बोलाएर व्यवस्थित ढंग्ले छलफल गरी समस्या आउन नदिन दीर्घकालीन उपाय खोज्न पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले लुक्ला, स्याङबोचे र नाम्चे बाहेक अरु ठाउँमा हेलिकोप्टरको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया