Main News

कहिले आउँछ मेलम्चीको पानी ? यस्तो छ आयोजनाको तयारी

हिमालय टिभी
२०७७ फागुन १९ गते ७:२०
कहिले आउँछ मेलम्चीको पानी ? यस्तो छ आयोजनाको तयारी

१९ फागुन २०७७ काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन अझै एक हप्ता समय लाग्ने भएको छ ।

हाल १२ किलोमिटर सुरुङमा पानी भरिसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन २६ गतेभित्र पानी सुन्दरीजलमा आइपुग्नेछ ।

मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुन्दरीजलस्थित महाँकालमा रहेको सुरुङभित्रको ढोका बन्द गरेर सिसी क्यामराको सहायताले सुरुङभित्रको पानीको अवस्था हेरिरहेको उहाँले जानकारी दिनुभयो ।

मेलम्चीको पानीमध्ये थोरै पानी परीक्षणका लागि पठाइएकाले सुरुङ भरिँदै पानी अगाडि बढाइएको हो । पानी पठाएसँगै पानीको चुहावटदेखि सबै कुरा चेकजाँच गर्नका लागि टनेलभित्र प्रेसर सेन्सर राखिएको निर्देशक खत्रीले बताउनुभयो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम विन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको खत्री बताउनुभयो ।

सुरुङमा हालिएको पानी चुहावट भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्नेदेखि अन्य विभिन्न तयारी भइरहेकोे छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ । फागुन १० गते खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गर्नुभएको थियो । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्ने बताइएको छ ।

पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै जमाएर सुरुङमा त्रुटी नभएको निश्चित गरेपछि खानेपानी वितरण हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *