राजनीति

प्रधानमन्त्री ओलीले भने–अहिले पदबाट हटाए दुई तिहाइ लिएर सिंहदरबार फर्कन्छु

हिमालय टिभी
२०७७ फागुन १८ गते १९:३२
प्रधानमन्त्री ओलीले भने–अहिले पदबाट हटाए दुई तिहाइ लिएर सिंहदरबार फर्कन्छु

१८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ ।

आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफुलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौती पनि दिनुभयो । आफुले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्ड–नेपाल समूहलाई व्यङ्ग्य पनि गर्नुभयो । आफु राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनता माझ जाने र जनताले न्याय दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “म मुद्दा लड्न गएको पनि छैन । म मुद्दा हाल्न गएको पनि छैन, यो पाउँ त्यो पाउँ भनेर । म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा, दरखास्त हाल्न जाँदा, निवेदन हाल्न जाँदा तपाईहरु कहाँ आउँछु । जनताकाबीच जान्छु । दाजुभाइ दिदीबहिनीकाबीचमा जान्छु कि म माथि अन्याय भयो तपाईहरुले न्याय दिनुहोस् भनेर । तपाईहरुले न्याय दिनुहुन्छ । अस्तिका दिन बोल्दाखेरी मैले भनेँ अहिले पनि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । सजिलो छैन । हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु तर आउँदो चुनावमा अहिले नै भन्दिनँ चाहन्छु कसैले हटाउन सक्छ भने हटाओस् डेढबर्ष ÷२ बर्ष पछि त चुनाव आइसक्छ । दुई तिहाईका साथ फेरि सिंहदरबारमा फर्कन्छु ।”

उहाँले प्रतिनिधिसभा विघटन खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गतेपछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “तपाईहरुलाई लाग्ला भन्नुहोला, प्रधानमन्त्रीले त ढुक्कैले भाषण गरिरहेको छ ,अदालतले त प्रतिनिधिसभा व्यूँतायो । ब्युँतायो भने के भयो र के बिग्रियो र ? ठिकै भयो । तर अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मुल्यांकन परिणामले गर्ने छ । म केही पनि बोल्दिनँ । मेरो काम त प्रधानमन्त्रीको हिसाबमा अदालतको फैसला मान्ने हो । त्यसलाई कार्यान्वयन गर्ने हो । २३ गते अधिवेशन बोलाएको छु । २३ गते अधिवेशन बस्छ । राम्ररी अधिवेशन चलाएर अगाडी बढाउने मेरो प्रयास हुन्छ । मेरो नकरात्मक भूमिका कहिले पनि हुँदैन । सकारात्मक भूमिका हुन्छ ।”

अर्काका लागि कर्म्फटेबल सरकार नभई नेपाल र नेपाली जनताका लागि कर्म्फटेबल सरकार चाहिएको भन्दै उहाँले आफुले देश र जनताको पक्षमा काम गरेको र गरिरहने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले आफू देश बिगार्ने तगाराहरु पन्छाएर अघि बढ्ने र त्यो क्षमता नेपाली जनताले राख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्