Main News

प्रधानमन्त्री ओलीले भने–वैज्ञानिक वन व्यवस्थापन भनेको त वन सखाप पार्ने नीति पो रहेछ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १४:१७
प्रधानमन्त्री ओलीले भने–वैज्ञानिक वन व्यवस्थापन भनेको त वन सखाप पार्ने नीति पो रहेछ (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको हो ।

वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औल्याउनुभयो ।

उहाँले भन्नुभयो – ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइनँ । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्‍यो । दिगो वन विकास नीति हुनुपर्‍यो । प्रतिफल दिने विकास नीति हुनुपर्‍यो । र यो कुरा के भने हामी नीतिहरु बनाउँदा तपाईहरुको साथ लिएर बनाउँछौ । जनताको साथ लिएर बनाउछौ । उपभोक्ताको साथ लिएर बनाउँछौ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि इत्यादि सबै कुरा जनताको साथ लिएर बनाउँछौँ ।’

प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भूमिका खेलेको बताउनुभयो । उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुनर्जीवन दिएको उहाँको भनाइ छ । फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सायद उपभोक्ता समितिहरु नबनेका भए, सामुदायिक वनहरुको रुपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरुलाई वन उपभोक्ता समितिहरुले तिनलाई पुनर्उत्थान गरेका छन् । तिनलाई पुनर्जीवन दिएका छन् । र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा यी सबै कुरामा धेरै ठुलो योगदान पुगेको छ ।’

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रबन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताउनुभयो । वनको अधिकतम सुरक्षा र विकास गरी जनता र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *