राजनीति

प्रचण्डले भने–ओली पाहाझैं पछारिए, आधिकारिक पार्टी हामी नै हुन्छौं

हिमालय टिभी
२०७७ फागुन १७ गते १९:२७
प्रचण्डले भने–ओली पाहाझैं पछारिए, आधिकारिक पार्टी हामी नै हुन्छौं

१७ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले आफुहरुको पक्षमा निर्णय गर्ने बताउनुभएको छ ।

आज पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफुहरुले पाउने दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उहाँले केही दिनभित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनि फैसला गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अर्को सेटिङ पनि भत्किदैछ, निर्वाचन आयोगवाला सेटिङ । हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सुर्य चिन्ह र नाम उहाँहरुकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्च पनि शंका गर्नु पर्दैन ।’

अध्यक्ष प्रचण्डले केपी ओली पाहा झैँ पछारिएको टिप्पणी गर्नुभयो । ओली पाहा पछारिएझैँ पछारिएपनि हामीले जित्यौ झन बलियो भयौँ भन्दै हिँडेको उहाँको भनाइ छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्न लायक नभएको उहाँले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकाले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो पार्टीको सदस्य नभएको व्यक्तिले, संसदीय दलको नेताको पनि दाबा गरिरहेका छन् । अनि मुख्य सचेतकबाट देव गुरुङजीलाई हटाएको पनि सुन्नु भा छ । अधिकार नै नभएको कुरा कहाँबाट हटाउने ? किनभने संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता त हामीले चयन गरिसकेका छौँ । अब केपी ओली दलको नेता पनि रहनुभाको छैन । त्यस हुनाले पनि उहाँले आफ्नो हिसाबले उहाँको डायरीमा नोट गरेका नाम जति काटे हुन्छ । हामीलाई भन्नु केही पनि छैन । रिस उठेपछि कलमले केरकार गरेपनि हुन्छ ।’

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताउनुभयो । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडी जान नसक्ने भन्दै उहाँले आफुहरुले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्