पूर्वसांसद एवं समाजसेवी उप्रेतीको निधन
१६ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद एवम समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा निधन भएको छ।
‘डाक्टर बा’का नामले परिचित डाक्टर उप्रेती नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीका पिता हुनुहुन्छ। गएराति ११ बजे निधन भएका उप्रेतीको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
२०४६ सालपछि उप्रेती कांग्रेसबाट ६ वर्षसम्म राष्ट्रिय सभा सांसद हुनुभएको थियो । डाक्टर उप्रेतीले ५० वर्षसम्म झापाको गाउँमै बसेर गरिब तथा असहायको निःशुल्क उपचार गर्नुभएको थियो ।
५ वर्ष सरकारी जागिर खाएका उप्रेतीले जागिर छाडेपछि ४५ वर्षसम्म झापामा बसेर सेवा गर्नु भएको थियो । २०१७ सालमा एमबीबीएस गरेका उप्रेती चिकित्सक मात्र नभएर प्रजातान्त्रिक आन्दोलनका अगुवा पनि हुनुहुन्थ्यो ।
त्यसक्रममा उहाँ पटक पटक जेल पर्नुभएको थियो । उप्रेतीले लेखेको आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्ष पूर्ण जीवनयात्रा समेट्नुभएको छ ।
प्रतिक्रिया