Main News

लकडाउनका बेला बालबालिकामाथि यस्तो यौन दुर्व्यवहार

हिमालय टिभी
२०७७ फागुन १६ गते ७:४४
लकडाउनका बेला बालबालिकामाथि यस्तो यौन दुर्व्यवहार

१६ फागुन २०७७ काठमाडौं । लकडाउन भएको चैतदेखि असारसम्म नेपाल प्रहरीमा ४८ वटा बाल यौन दुर्व्यवहारका उजुरी दर्ता भएका छन् । त्यसमध्ये साइबर बुलिङ, बाल अश्लीलता, झुटो आइडी, छलकपटसम्बन्धी धेरै छन् ।

आर्थिक वर्ष ०७६–७७ मा बालबालिकामाथि भएका यस्ता बाल यौन दुव्यर्वहार प्रकृतिका उजुरीको संख्या १०४ थियो । अनलाइनमा नचिनेका मान्छेसँग जोडिएका बालबालिकालाई पहिले मीठो गफ गरेर फकाउने, तस्बिर र भिडियो साटासाट गर्ने, पछि त्यही फोटो र भिडियो सामाजिक सञ्जालमै राखिदिन्छु भन्दै बालबालिकालाई ब्ल्याकमेलिङ गर्ने प्रकृतिका घटना बढेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार त्यसरी दलालले बालबालिकालाई विदेशमा लगेर बेचबिखन नै गर्नेसम्मका अपराध पनि भइरहेका छन् ।

बालबालिकाले आफ्नै ठानेर सामाजिक सञ्जालमा आदान–प्रदान गरेका अश्लील फोटो र भिडियो सामग्री अपराधीले पोर्न साइटसम्म पनि पुर्याउने गरेका छन् । कतिपय परिवारले त्यसरी सार्वजनिक भएपछि मात्रै थाहा पाएर उजुरी गर्ने गरेका छन् ।

सुवेदीका अनुसार लकडाउनमा विद्यालयहरू बन्द भएपछि सामाजिक सञ्जालको लतले बालबालिकाको धेरै समय अनलाइनमा बित्न थालेको छ ।

बालबालिका इन्टरनेटमा बसेका बेला अपराधीले बालमस्तिष्कको समेत फाइदा उठाएको सुवेदीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *