राजनीति

नयाँ सत्ता समीकरण : प्रधानमन्त्री बन्ने कसको संभावना कति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते ६:००
नयाँ सत्ता समीकरण : प्रधानमन्त्री बन्ने कसको संभावना कति ? (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । संसद विघटनको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि दलहरु नयाँ सरकार गठनको कसरतमा छन् । नयाँ सरकारको नेतृत्व कसले गर्ला भन्ने कौतुहुलता आम नागरिकमा समेत देखिएको छ । भावि प्रधानमन्त्रीका दाबेदार कोको छन् र कस्को संभावना कस्तो छ ?

शेरबहादुर देउवा
नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संभावना सबैभन्दा धेरै देखिएको छ । यसको प्रमुख कारण हो विभाजित नेकपाका दुबै समूह आफ्नो नेतृत्व नहुने अवस्थामा देउवालाई नै अघि बढाउन चाहन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सरकारलाई तन्काउने र त्यसमा असफल भए अन्तिममा देउवालाई समर्थन गरेर छाड्ने मनस्थितिमा रहेको बालुवाटार निकट स्रोतहरुको दाबी छ । प्रचण्ड–नेपाल समूहको रणनीति सकेसम्म आफै सरकारको नेतृत्व गर्ने, संभव नभए देउवालाई नै समर्थन गर्ने देखिएको छ ।

सर्वोच्चको फैसला आउनु अगाडी आन्दोलनमा ल्याउन अध्यक्ष प्रचण्डले भावि प्रधानमन्त्रीको आश्वासन दिइसक्नुभएको छ । नेपालको सत्तामा भूमिका हुने भनिएको दक्षिणी छिमेकी मुलुकको चाहना पनि देउवाले नै आगामी सरकारको नेतृत्व गरुन भन्ने रहेको राजनीतिका जानाकार बताउँछन् । यस अर्थमा सभापति देउवा प्रधानमन्त्री हुने संभावना अन्यको भन्दा धेरै छ । तर यसमा उहाँले पार्टीभित्र भने अन्य नेतालाई मनाउनुपर्नेछ । किनकी अहिले कांग्रेस सरकारमा जान नहुने मत बलियो बनिरहेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड
विभाजित नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रचण्डले सर्वोच्चको फैसला आउनु अगाडीको एउटा अन्तरवार्तामा आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको थियो । तर संसद विघटन बदर भएपछि भावी सरकारको नेतृत्वबारे उहाँको भनाइ आएको छैन ।

यो बीचमा प्रचण्डले कांग्रेस सभापति देउवा र जनता समाजवादी पार्टीका नेतासँग भेटेर सहकार्य गर्न प्रस्ताव गर्नुभएको छ । नेकपा विभाजित हुँदा पनि प्रचण्ड नेतृत्वको पार्टी सबैभन्दा ठुलो दल बन्ने देखिएको छ । यो अवस्थामा कांग्रेसभित्र सरकारमा नजाने तर बाहिर बसेर समर्थन गर्ने मत बलियो भयो भने प्रचण्डको प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।

त्यस्तो अवस्थामा उहाँलाई जसपाको समेत समर्थन हुनेछ । त्यसवाहेक दुई दलको सरकार बन्न नसके र अहिलेको सरकारले विश्वास गुमाए सबैभन्दा ठुलो दलको हैसियतले पनि प्रधानमन्त्रीमा प्रचण्डको सम्भावना छ । तर त्यसका लागि पहिले अविश्वास प्रस्ताव भने संसदबाट पारित हुनुपर्नेछ ।

२३ गते बोलाइएको संसद अधिवेशन अघि नै प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने वा नसक्ने स्पष्ट हुनेछ । प्रचण्डले आगामी सरकार बनाउन भारतको पनि भूमिका महत्वपुर्ण हुने बुझेर सम्वन्ध विस्तारको पहल गरिरहनु भएको छ । यस अर्थमा उहाँ प्रधानमन्त्रीको दौडमा रहेको बुझ्न सकिन्छ ।

माधवकुमार नेपाल
पहिले आफू प्रधानमन्त्रिको दौडमा नरहेको बताएका प्रचण्ड अहिले पनि त्यसमा कायमै रहे र अन्य दलसँगको समिकरण पनि मिले माधवकुमार नेपाल पनि प्रधानमन्त्री बन्ने संभावना छ ।

पार्टीभित्रको पुर्व एमालेलाई खुसी पार्न प्रचण्डले भावि प्रधानमन्त्रीका रुपमा नेपाललाई अघि बढाउने अर्को संभावना पनि छ । तर यसका लागि अन्य दलको समर्थन भने जरुरी छ ।

कांग्रेसले प्रधानमन्त्रीमा दाबी छाडेर प्रचण्ड नेपाल समूहलाई समर्थन गर्ने र पार्टीभित्र प्रचण्डले त्याग गरेमा मात्रै माधवकुमार नेपाल प्रधानमन्त्री बन्न सक्नुहुनेछ ।

बाबुराम भट्टराई
अहिले भावि प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराइको पनि चर्चा भइरहेको छ । तर उहाँलाई प्रधानमन्त्री हुन त्यति सजिलो भने छैन । किनकी नेकपा विभाजित भएको अवस्थामा भट्टराइको दल जनता समाजवादी पार्टी चौथो स्थानमा पुग्नेछ ।

अघिल्ला तीन दलले प्रधानमन्त्री छाडेको अवस्थामा मात्रै भट्टराइको संभावना हुनेछ । त्यसवाहेक प्रचण्ड(नेपाल समूह र जनता समाजवादी पार्टी मिल्दा मात्रै सरकार बन्ने अवस्था सृजना भयो भने पनि भट्टराइको वार्गेनिङ पावर बढ्नेछ । राजनीतिक किचलो बढ्दै गए दलहरुबीच राष्ट्रिय सरकारका लागि पहल हुन सक्नेछ ।

त्यो अवस्थामा पनि भट्टराइको प्रधानमन्त्री बन्ने संभावना हुनेछ । यसवाहेक प्रचण्ड नेपाल समूह र कांग्रेसमा नेतृत्वलाई लिएर चरम विवाद भएमा भट्टराइलाई प्रधानमन्त्री हात पर्न सक्नेछ । तर अन्य दावेदारको तुलनामा भट्टराइको सम्भावना भने केही कम देखिन्छ ।

उपेन्द्र यादव
जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्न पाउने अवस्थामा उपेन्द्र यादवको पनि प्रधानमन्त्री बन्ने झिनो संभावना छ ।

तर त्यसका लागि उहाँले भट्टराइलाई पनि मनाउनु पर्नेछ र अरु दलको पनि समर्थन पाउनु पर्ने छ । यसअर्थमा अहिले देखिएका दावेदार पात्र मध्ये यादवको संभावना सबैभन्दा कमजोर छ ।

नेपालको राजनीतिमा जस्तो सुकै उलटपुलट हुन सक्छ । विगतमा प्रधानन्यायाधीस खिलराज रेग्मीसम्मलाई सरकारको नेतृत्व दिइएको उदाहरण छ । त्यसैले राजनीतिमा भद्रगोल बढ्दै गए सतहमा अर्को पात्र पनि आउन सक्नेछ ।

किनकी नेपालको राजनीतिमा छिमेकी देशको चासो र प्रभाव पनि उत्तिकै हुने गरेको छ । यसवाहेक कांग्रेस सरकारमा पनि नजाने र कसैलाई समर्थन पनि नगर्ने निर्णयमा पुगे अहिलेकै सरकारले निरन्तरता पाउने र २ वर्ष अगाडी नै चुनाव हुने संभावना पनि जीवितै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्