कुनै हालतमा राजीनामा दिन्नँ, मैले छाडे देशमा अस्थिरता आउँछ : प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)
१५ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताउनुभएको छ ।
सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गर्नुभएको हो । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गर्नुभयो ।
नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो संभावना नरहेको बताउनुभएको छ । प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्ने उहाँको दाबी छ ।
प्रधानमन्त्रीका हरेक निर्णयमा राष्ट्रपतिले साथ दिएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको छ । तर प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो कर्तव्य पालना गरेको भन्दै बचाउ गर्नुभयो । राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी रहेको ओलीको आरोप छ ।
राष्ट्रपतिमाथि एक चौथाईले महाअधियोग प्रस्ताव दर्ता गर्न सक्ने भए पनि संसदले त्यो पारित नगर्ने प्रधानमन्त्रीले बताउनुभयो ।
राष्ट्रपतिको बचाउ गरे पनि प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको भने आलोचना गर्नुभयो ।
प्रधानमन्त्री ओलीसँगको विस्तृत कुराकानी भोलि राति ९ बजे प्रशारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुनेछ ।
प्रतिक्रिया