बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो: अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)
१५ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोशिस गरिरहनु भएको बताउनुभएको छ । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उहाँले नै कोशिस गरिरहनु भएको तर आफुले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोशिस गर्नुस् भनेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? बामदेव गौतम हो । फेरी उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ बामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर । अब अहिले पनि उहाँ फेरी कोशिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब उहाँ गर्नुहोस् मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किँदैन कोशिस गर्नुहोस् ।
अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पार्नुभएको छ । बरु ओली प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन् । त्यसो भएकाले तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस् । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’
अहिले प्रतिनिधि सभा पुनर्स्थापना भएपनि पुरै लडाइँ जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो ‘एउटा लडाइँ जित्यौं, सिङ्गो लडाइँ जित्न बाँकी छ । एउटा लडाइँ जितेका छौं अर्को लडाइँ केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाइँ गर्नुछ ।’
केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताउनुभएको छ । ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोपसमेत अध्यक्ष नेपालले लगाउनुभयो ।
उहाँले भन्नुभयो ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’
बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको समेत बताउनुभयो । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘केपी ओली यो तरिकाले जाँदा पार्टीभित्र उहाँले छलफल बहस बन्द गर्नुभयो । बैठक त्यहिं छ बालुवाटारमा, बालुवाटार बाहिर कहिं नजाने मान्छे अहिले हेर्नुहोस त फुर्ति कहिले कहाँ पुग्या छ कहिले कहाँ पुग्या छ । बैठक भनेपछि धुम्बाराहीमा नआउने मान्छे अहिले त कुद्या छ कुद्या छ । भनेपछि पार्टीलाई कति मर्यादित ठानेको । आफ्नो पुरै पछिपछि लाग्नुपर्छ भन्ने प्रवृतिको कति पक्षपोशण भएको कुरालाई पुष्टि गर्दैन त्यसले । त्यसैगरी त्यहिं निवास छ, बेडरुम छ, त्यहिं बैठक बसेको छ बैठकमै नआउने । बैठकमा ल्याउनका लागि प्रचण्डले बैठक छोडेर जाने फेरी, कहिलेकाहिं हामीलाई पनि सँगै जाउन भन्ने । एउटाको शक्तिले पुगेन र दुईवटाले सकिन्छ की भनेर । यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौं ।’
अहिले केपी ओलीलाई विदा गरे जस्तै ओली प्रवृतिलाई पनि सबैले त्याग्नुपर्ने बताउनुभयो । अहिले सबै क्षेत्रबाट नेताहरुलाई ओली प्रवृति त्यागेर अगाडि बढ्न सुझाव आएको पनि अध्यक्ष नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘केपी ओलीलाई विदा गर्यौं । केपी प्रवृतिलाई हामीले विदा गर्ने की नगर्ने ? अहिलेका नेताहरुलाई चेतना भया भनेर हामीलाई पनि भन्ने गर्नुहुन्छ । पत्रिकामा पनि पढ्दै थिएँ । होस गर्नुहोस है तपाईहरुमा पनि केपी प्रवृति नउदाओस् । हामी अवश्य पनि सतर्क छौं ।’
प्रतिक्रिया