नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि राष्ट्रसंघमा सिफारिस
१५ फागुन २०७७ काठमाडौं । संयुक्त राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् ।
नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ ।
संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिस संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ ।
अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सुविधासमेत दिइएको छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् ।
यसमध्ये नेपालले प्रतिव्यक्ति आयबाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ । पछिल्लो समय सन २०१५ को भूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ ।
नेपाली नियोगका अनुसार सन् २०२२ मा स्तरोन्नति भएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकका रुपमा पाइरहेको सुविधा सन २०२६ सम्म नै पाउने भएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै यो सिफारिसले नेपालले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानका लागि एउटा विकासको महत्वपूर्ण कोशेढुंगा सावित हुने बताउनु भएको छ ।
प्रतिक्रिया