राजनीति

संसद पुनःस्थापनाको खुसियालीमा देशभर प्रदर्शन, कहाँ कसले के भने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १२ गते १९:३०
संसद पुनःस्थापनाको खुसियालीमा देशभर प्रदर्शन, कहाँ कसले के भने ? (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । संसद पुनःस्थापनाको खुसियालीमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशैभर विजय जुलुस निकालेको छ । जुलुसमा सहभागीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको भन्दै हिजो दीपावली गरेको प्रचण्ड–नेपाल समूहले आज देशभर विजय जुलुस निकाल्यो । काठमाडौंमा निस्केको जुलुसका सहभागीले ‘सर्वोच्च अदालत हाई–हाई, यो जित कस्को जनताको, जनताको एकता जिन्दावाद, नागरिक समाज धन्यवाद, जस्ता नारा लगाएका थिए । शान्तिबाटिकामा आयोजित कोणसभामा नेतृ पम्फा भुसालले शीतलनिवास र बालुवाटार खालि गर्न माग गर्नुभयो । पशुपतिमा आज क्षमा पुजा गरेकोमा पनि भुसालले राष्ट्रपतिप्रति कटाक्ष गर्नुभयो ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए संसद बैठक बसेर गलहत्याउने भुसालले चेतावनी दिनुभयो ।

चितवनमा प्रचण्ड–नेपाल समूहले यसअघि नै तय गरेको विरोध सभालाई आज विजय सभामा परिणत गरेको छ । विरोधसभालाई सम्वोधन गर्न पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल संसद पुनर्स्थापना लगत्तै काठमाडौं फर्कनुभएको थियो ।

तर जुलुसपछि आयोजित सभामा नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले फैसलाले नेपालमा न्याय मरेको छैन भन्ने प्रमाणित भएको भन्दै केपी ओलीलाई अब प्रधानमन्त्री पदमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो ।

अब आधिकारिकता समेत पाइसकेको भन्दै नेता पाण्डेले ओलीपक्षमा लागेका नेता, कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभयो । संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङप्रति पनि उहाँले व्यङ्ग गर्नुभयो ।

अहिले ओली क्याम्पमा भुइचालो गएको भन्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीका लागि अब संकटकाल लगाउने नभइ दुलोमा पस्ने दिन आएको टिप्पणी पनि गर्नुभयो । उहाँले माडीमा राम मन्दिर बनाएर मुल पुजारीका रुपमा ओलीलाइ राख्ने दिन आएको भन्दै व्यङ्ग्य पनि गर्नुभयो

सभा अघि भरतपुरका मुख्य चोकबाट झांकी सहित विजय र्याली निकालिएको थियो ।

बुटवलमा पनि विजयी जुलुस निकालिएको छ । राजमार्ग चौराहादेखि सुरु भएको र्याली नगर परिक्रमा गर्दै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा सहभागीले प्रतिगामी प्रधानमन्त्री राजीनामा देउ, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्