प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो : सभापति देउवा (भिडियो रिपोर्टसहित)
१२ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताउनुभएको छ ।
आज महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा भएको ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताउनुभएको हो । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दबाव नदिने बताउनुभयो ।
सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताउनुभयो । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णय पछाडी की त आफ्नो बहुमत पुर्याउनुपर्यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरुको पार्टीको कुरा हो ।’
सभापति देउवाले नेपाली कांग्रेसप्रति आकषैण बढेको पनि बताउनुभयो । कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजीवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’
प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताउनुभयो । उहाँले कसैले पनि कुनै पनि बाहनामा प्रजातन्त्र र लोकतन्त्र हरण गर्न नसक्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया