राजनीति

ओली समूहका नेता पोखरेल भन्छन्–सर्वोच्चको फैसला बिर्सनुस्, संसद विघटनको उद्देश्य पूरा भयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १२ गते १८:३४
ओली समूहका नेता पोखरेल भन्छन्–सर्वोच्चको फैसला बिर्सनुस्, संसद विघटनको उद्देश्य पूरा भयो (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–नेपालहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको छ ।

आज नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकमा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–नेपाल पक्षको जितको परिणाम गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘उहाँहरुले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे । उहाँहरुले जितेको जितको परिणाम के हो त भन्दा कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैरकम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिड्दै हुनुहुन्छ ।’

नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैरकम्युनिष्टहको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताबीचमा यसै विषयलाई लिएर जाने बताउनुभयो ।

उहाँले जुन उद्देश्यका साथ प्रतिनिधि सभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गर्नुभयो । प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षड्यन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उहाँले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टी नेतृत्व र आन्दोलन रक्षाका लागि स्वभाविक रुपमा प्रतिनिधि सभा विघटन त्यतिबेलाका लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ । आज सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस् । त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्व, आन्दोलन, एकताविरुद्धमा जुन प्रकारको षड्यन्त्रपूर्ण क्रियाकलाप भएको थियो त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं । जुन उद्देश्य साथ प्रतिनिधि सभा विघटन गरेका थियौँ त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पुरा गरिसकेका छौँ । संसद पुनर्स्थापना भएर केही बिग्रिएको छैन ।’

नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल शुरु हुने र त्यतिबेला केपी ओलीको संसद विघटनको कदम सही हो भन्ने दुनियाँलाई महशुस हुने बताउनुभयो । उहाँले आगामी चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइसक्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा ओली समूहका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयले दुई वर्ष संगठन गर्ने अवसर पाएको बताउनुभयो । संगठन निर्माण गरेर जाने र आगामी चुनाव जितेरै छाड्ने दाबी पनि गर्नुभयो ।

सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै आफुहरुले संयमतापूर्वक राजनीतिक विचार राखिरहेको तामाङले बताउनुभयो । आफुहरु निर्माण र समृद्धिको पक्षमा रहेको र त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्