नेकपा प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक, विरोध जुलुस विजय जुलुस बन्ने
१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ।
सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले संसदीय दलको बैठक बोलाएको हो। आज दिउँसो ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ। यसअघि नै केपी शर्मा ओलीलाई नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।
सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीले आफू पक्षका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिनुभएको छ ।
यसैबीच नेकपा प्रचण्ड नेपाल समूहले आजका लागि तय गरिएको विरोध सभालाई विजय उत्सवका रुपमा मनाउन निर्देशन दिएको छ ।
आज हुने भनिएको विरोधसभालाई सम्बोधन गर्न चितवन पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले कार्यकर्तालाई यस्तो निर्देशन दिनुभएको हो ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन गरिरहेको छ । हिजो साँझ कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले अव संसदमा रहेका दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।
जनतासँग वाचा गरे अनुरूप दलहरूसँग मिलेर संयुक्त सरकार बनाउने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन पनि सुझाव दिनुभएको छ ।
प्रचण्डले ओली पक्षमा लागेका नेता कार्यकर्तालाई मूल पार्टीमा आउनसमेत आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया