Main News

प्रचण्डले भने–सर्वोच्चले सही फैसला गर्छ भन्नेमा विश्वस्त छौं (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते १५:२२
प्रचण्डले भने–सर्वोच्चले सही फैसला गर्छ भन्नेमा विश्वस्त छौं (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गर्नुभएको हो ।

७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाईं चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘लडाई विभिन्न ढंगले चलिराखेकै छ । यसो भन्नुको तात्पर्य के होइन भने हाम्रो अदालतप्रति विश्वास छैन भन्न मैले खोजेकै छैन । मैले सबै सभामा भनेको छु अदालतमा मुद्दा छ अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’

संसद विघटनलाई प्रतिगमनको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौं । देशव्यापी युद्ध चलिराखेको छ । तपाई हामी सबै युद्धमै छौं । अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ ७०÷७१ वर्षको आन्दोलनका उपलब्धीहरुलाई त्यो हतियारबद्ध हुन खोज्छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौं ।’

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षड्यन्त्र भइराखेको बताउनुभयो । आफूहरु एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भएपनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टी धेरै दुःखले एकतावद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षड्यन्त्र र कसरत अहिले भइनै राखेको छ । भइनै सक्याछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *