महोत्तरीको सहोडवामा एक दम्पती बेपत्ता, अपहरणको आशंकामा स्थानीय आन्दोलित
११ फागुन २०७७ महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको छ । स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् ।
उनीहरुले प्रदर्शन गर्नुका साथै जलेश्वर–जनकपुर सडकमा यातायात अवरुद्ध गरेका छन् । सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीतादेवीलाई राति अपहरण गरिएको बताइएको छ ।
दुबै जना घरमा बिहान नभेटिएको परिवारले जनाएको छ । राति अपरिचित समूहले आक्रमण गरी उनीहरूलाई अपहरण गरेको परिवारको दाबी छ ।
प्रदर्शनकारीले हराएका दम्पतिको खोजविन गरेर अवस्था पत्ता लगाउनुपर्ने माग गरिरहेका छन् । बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा पर्खाल नाघेर घरभित्र पसेका अपहरणकारीले दम्पतीलाई कुटपिट गरी घिसार्दै लगेको देखिएको छ । उनीहरु सुतेको कोठा वरिपरी रगतको छिर्का देखिएको छ ।
प्रहरीले दुवै जनाको खोजी भइरहेको जनाएको छ । दम्पति सुतेको ठाउँमा रगत पाइएकाले घटना शंकास्पद देखिएको प्रहरीको ठम्याइ छ । घटनास्थलमा तालिमप्राप्त कुकर लगेर अनुसन्धान अघि बढाइएको छ ।
प्रहरी घटनास्थलमा पुग्न ढिलाइ भएको भन्दै स्थानीय आक्रोशित छन् । मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति भएकाले सोही कारण झा दम्पतीमाथी आक्रमण भएको हुनसक्ने स्थानीयको आशंका छ । जग्गावालासँग झाको विवाद चलिरहेको थियो ।
प्रतिक्रिया