Main News

चुनाव हुने नहुने अन्योल कायमै, सामग्री खरिदमा हतार

हिमालय टिभी
२०७७ फागुन ११ गते ७:१६

११ फागुन २०७७ काठमाडौं । वैशाखमा तोकिएको चुनाव हुने नहुने अन्योलताका बीच निर्वाचन आयोगले चुनावका लागि चाहिने सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

आयोगले सार्वजनिक खरिद ऐन २०६४ र नियमावलीअनुसार नियमित प्रक्रियाबाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न संभवन नहुने भन्दै फास्टट्रकबाट सामग्री खरिद गर्न बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो।

हिजो बसेको आयोगको बैठकले आजदेखि ७ दिनको समय दिएर बोलपत्र आह्वान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

आयोगले चुनावका लागि मतदान केन्द्रमा चाहिने सामग्रीलाई ११ समूहमा विभाजन गरेर खरिद गर्न लागेको हो। चुनाव गर्न ६७ किसिमका सामग्री चाहिने आयोगको भनाइ छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिट निवेदनको फैसला कुरेर बसेको आयोगले फैसला आउनुअघि नै खरिद प्रक्रिया अघि बढाएको छ।

संसद पुनःस्थापना भए चुनावको सन्दर्भ नै सकिने हुँदा आयोग अदालतलाई कुरेर बसेको थियो। तर चुनावका लागि जनताले देखिने गरी काम नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमै आलोचना गरेपछि आयोग दबाबमा परेर खरिद प्रक्रिया थाल्न बाध्य भएको हो।

तर राजनीतिक रुपमा विभाजित नेकपाको पुष्पकमल दाहालमाधव नेपाल पक्षले भने चुनाव हुनै नसक्ने भएकाले आयोगलाई अघि नबढ्न चेतावनी दिँदै आएको छ।

आयोगले बोलपत्रका फारमका किन्न लागि १७ गतेसम्मको अवधि दिएको छ भने टेण्डर १८ गते दिउँसो १२ बजेभित्र हालिसक्नुपर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *