Main News

अदालतले छाड्न आदेश दिए पनि गेटबाटै पक्राउ परे विप्लव समूहका नेता बास्तोला

हिमालय टिभी
२०७७ फागुन १० गते १९:०२
अदालतले छाड्न आदेश दिए पनि गेटबाटै पक्राउ परे विप्लव समूहका नेता बास्तोला

१० फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गरेको छ।

सरकारले वार्ताको तयारी गरिरहेका बेला बास्तोलालाई तत्काल हिरासतमुक्त गर्न अदालतले आदेश दिएको थियो। तर अदालतको आदेश उल्लंघन गर्दै प्रहरीले बास्तोलालाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ गर्ने क्रममा बास्तोलामाथि अभद्र व्यवहार समेत गरेको छ ।

न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै थुनाबाट मुक्त गर्न आदेश दिएको थियो।

फरक राजनीतिक आस्था र विचार राखेकै आधारमा बास्तोलालाई थुनामा राखेको अदालतको ठहर छ । बास्तोलाले पत्रकारसँग कुरा गर्छु भन्दा पनि प्रहरीले जबर्जस्ती भ्यानमा हालेको थियो ।

बास्तोलाविरुद्ध काभ्रे र भोजपुरमा पनि मुद्दा रहेकाले पुनः पक्राउ गरिएको काठमाडौं प्रहरीको तर्क छ । बास्तोलालाई पहिले काभ्रेमा मुद्दा चलाएपछि भोजपुर लैजाने तयारी छ ।

ओली सरकारले विप्लवका नेता कार्यकर्तालाई अदालतको आदेशको उल्लंघन गर्दै पक्राउ गरिरहेको छ । पक्राउ पर्नु अघि केही संचारकर्मीसँग नेता बास्तालाले सरकार इमान्दार भए वार्ता हुन सक्ने प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *