Main News

मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण

हिमालय टिभी
२०७७ फागुन १० गते १३:१५
मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण

१० फागुन २०७७ सिन्धुपाल्चोक । उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिएको छ।

सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि आज खानेपानी मन्त्री मणिचन्द्र थापाले स्विच थिचेर पुनः परीक्षणको शुभारम्भ गर्नु भएको छ ।

गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि बाँध फुटेको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताउनुभयो ।

सुरुङमा आज पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ। सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने मन्त्रालयले जनाएको छ ।

सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र छन्। त्यहाँ पानी प्रशोधन भए पछि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमा पठाइने छ । ती ट्याङ्कीमा जम्मा भएको पानी घर घरमा पुर्‍याइने छ ।

उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयका प्रवक्ता शाक्यले बताउनुभयो ।

यसअघि गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको बाँध फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *