Main News

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

हिमालय टिभी
२०७७ फागुन ८ गते २०:५६
कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

८ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ ।

कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहनुभएको छ ।

समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई लिखित पत्राचार गर्ने निर्णय गरेको छ । सो निर्णयबमोजिम क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेबी) र गाउँपालिका÷नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपीसहित विवरण केन्द्रमा पठाउनुपर्ने छ ।

क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धमा जिल्लामा हालसम्म भइरहेको कार्यप्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन समिति सदस्य ढुङ्गाना र परियारलाई प्रदेश नं १ र २, घिमिरे र पौडेल वाग्मती र गण्डकी प्रदेश तथा गुरुङ र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको जिम्मेवारी तोकिएको छ ।

यसैगरी समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा प्रदीप पराजुली (प्राविधिक तर्फ) र अधिवक्ता केशव रिजाल (प्रशासन र निर्णय प्रक्रियातर्फ)लाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । कांग्रेस १३औँ महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव रिजालले यही फागुन ११ गते बस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने बैठकको निर्णय छ ।

कांग्रेसको फागुन ६ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । कांग्रेसले महाधिवेशनसँगै गाउँ÷नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ÷नगरपालिका अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते कार्यतालिका निर्धारण गरेको छ । साथै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने कांग्रेसको निर्णय छ ।

कांग्रेसले जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण सम्पन्न गर्ने अवधि यही फागुन २८ गतेभित्र, क्रियाशील सदस्यता प्रकाशित गरी केन्द्रमा पठाउने अवधि आगामी चैत १० गतेभित्र तोकेको छ । यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले उजुरी उपर छानविन गरी केन्द्रमा पठाउनु पर्ने अवधि चैत २५ गते तोकिएको छ । केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी सूची तयार गरेर केन्द्रीय सभापतिलाई बुझाउने अवधि आगामी जेठ १७ गतेसम्म निर्धारण गरिएको छ ।

कांग्रेसले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकेको छ । कांग्रेसको सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको र आगामी अधिवेशनसम्ममा नयाँ र नविकरण गरी १० लाख हाराहारी पुग्ने केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो ।

कांग्रेसमा समायोजन भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *