Main News

प्रधानमन्त्री ओलीद्वारा उपराष्ट्रपति र सभामुखको चर्को आलोचना

हिमालय टिभी
२०७७ फागुन ८ गते १७:०२
प्रधानमन्त्री ओलीद्वारा उपराष्ट्रपति र सभामुखको चर्को आलोचना

८ फागुन २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधमा भाषण गर्दै हिँडेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनको आलोचना गर्नुभएको छ ।

विराटनगरमा आज आयोजित सभामा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनले संसद विघटनको विरोध गर्दै हिँडेको बताउनुभयो । राष्ट्रको मर्यादा क्रममा उपराष्ट्रपति प्रधानमन्त्री भन्दा माथिल्लो क्रममा हुनुहुन्छ । माओवादी पृष्ठभूमिबाट आएका उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री ओलीले अब त कमसेकम चुनावतिर लाग्नुस् भन्दै व्यङ्ग्य पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति मात्रै नभइ सभामुख अग्नी सापकोटालाई पनि झगडिया भन्दै आलोचना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगबाट आफ्नो समूहले आधिकारिकता नपाए आन्दोलनमा जाने घोषणा पनि गर्नुभयो । यसअघि निर्वाचन आयोगको निर्णय मान्छु भन्ने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री ओलीको बोली आज भने फेरिएको छ । प्रधानमन्त्रीले निर्वाचन आयोगमा सेटिङ गरेर आफूहरुलाई सुर्य चिन्ह नदिए नमान्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भए मोलतोलका साथै सरकार बनाउने र ढलाउने खेल शुरु हुने दाबी पनि गर्नुभयो । सरकारले घोषणा गरेकै मितिमा चुनाव हुने दोहोर्‍याउँदै उहाँले ३ वर्षमा मुलुकमा असाधारण विकास गरेको दाबी पनि गर्नुभयो ।

नेकपा ओली समूहको सभाअघि विराटनगरका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । सभामा गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुभास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *