Main News

प्रधानमन्त्री विवादास्पद काम गर्न झनै हौसिए, यस्तो रहेछ प्रदेश प्रमुख हटाउनुको कारण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते १९:१२
प्रधानमन्त्री विवादास्पद काम गर्न झनै हौसिए, यस्तो रहेछ प्रदेश प्रमुख हटाउनुको कारण (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को विवादास्पद काम गर्नुभएको छ । पूर्व माओवादी कोटाबाट नियुक्त भएका प्रदेश २ का प्रमुख तिलक परियारलाई ओली सरकारले हटाएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा तिलक परियारलाई पदमुक्त गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आजै मधेश मामिलाका जानकार मानिने डाक्टर राजेश झालाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

परियारलाई पदमुक्त गर्नुको पक्का कारण खुलेको छैन । तर, केही विषय भने सतहमा आएका छन् । सत्तारुढ नेकपा अहिले फुटेको छ । जसको सोझो असर प्रदेश २ का प्रमुखमा परेको देखिन्छ ।

किनकि परियार पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख हुनुभएको थियो । केही दिनअघि परियारका स्वकीय सचिव अनिल पासवान र नेपाल रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईबीच भएको झगडाको अडियोसमेत सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएसँगै प्रदेश प्रमुख पदमुक्त भएपछि कहीँ न कहीँ यी दुबै विषय एक अर्कासँग जोडिएको अनुमान छ । भट्टराई प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र मानिननु हुन्छ ।

नवनियुक्त प्रदेश प्रमुख झा पनि प्रधानमन्त्री ओली निकट मानिनुहुन्छ । झाले प्रधानमन्त्री ओलीको प्रंशसा तथा प्रचण्ड नेपाल र मधेशका अरु नेताको चर्को आलोचना गर्दै आउनुएको छ ।

कतिपयले झाको नियुक्तिलाई ओलीको प्रशंसाबाट प्राप्त फल भनेका छन । नेकपाको विवादको असर राज्यका ठूला ओहदामा बसेका व्यक्तिमा पनि देखिने क्रम जारी छ ।

आज पनि उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा नवनियुक्त प्रमुखको झाको शपथ ग्रहण समारोहमा उपस्थित हुनुभएन । यसअघि संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *