Main News

संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

हिमालय टिभी
२०७७ फागुन ७ गते १५:०८
संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

७ फागुन २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ ।

एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आज राय दिएसँगै सुनुवाइ सकिएको हो । पाठकले पनि संविधानभन्दा माथि कोही नभएको भन्दै संसद विघटनको निर्णय उपयुक्त नभएको राय दिनुभएको छ ।

सुनुवाइ सकिएलगत्तै संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस नोट दिन सबैलाई आग्रह गर्नुभएको छ । रिटको पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानून व्यवसायीलाई उहाँले फागुन १० गतेभित्र नोट दिन आग्रह गर्नुभयो ।

फैसला कहिले आउँछ भन्नेबारे जबराले स्पष्ट पार्नुभएन । बहस नोटपछि मुद्दा हेर्दाहेर्दैमा जाने र फैसला त्यसपछि ११, १२ गते जति पनि जान सक्ने उहाँले बताउनुभयो । ११ गतेपछि इजलास आन्तरिक छलफलमा जुट्नेछ ।

संवैधानिक इजलासले संसद विघटनविरुद्धका रिटमाथि माघ ४ गतेदेखि विषयवस्तु केन्द्रीय भएर सुनुवाइ शुरु गरेको थियो । रिट निवेदक र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो ।

गत सोमबारदेखि एमिकस क्युरीका सदस्यले राय दिन थालेका थिए । एमिकस क्युरीका रुपमा गएका कानून व्यवसायीहरु बद्रीबहादर कार्की, सतिशकृष्ण खरेल, पूर्णमान शाक्य, विजयकान्त मैनाली र गीता पाठक संग्रौलाले इजलासलाई राय दिइसक्नुभएको छ ।

मैनालीबाहेक चार जनाले नै संसद विघटनको विपक्षमा राय दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *