Main News

आज ७१औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ फागुन ७ गते ७:४६
आज ७१औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

७ फागुन २०७७ काठमाडौं । आज ७१ औँ प्रजातन्त्र दिवस, एक सय चार वर्षिय जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासामू घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा हरेक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । विदेशस्थित कूटनीतिक नियोग, दूतावास र वाणिज्य दूतावासमा पनि कार्यक्रम आयोजना गरिंदै छ ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, पूर्व राजाले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *