Main News

लिखित जवाफसहित प्रम ओली अदालतमा, भने –अदालतको अवहेलना गरेको छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ६ गते २०:५२
लिखित जवाफसहित प्रम ओली अदालतमा, भने –अदालतको अवहेलना गरेको छैन (भिडियो रिपोर्टसहित)

६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना नगरेको प्रष्टिकरण दिनुभएको छ । अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भविष्यमा पनि न्यायालयको अवहेलना नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आफनो अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा आफै उपस्थित भएर प्रष्टिकरण दिन बाध्य पार्यो ।

संसद विघटन सम्बन्धी मुद्दामा अदालतमा बहस भैरहँदा माघ ९ गते त्यसलाई तमासा भन्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे यस्तो टिप्पणी गरेपछि माघ १३ गते प्रधानमन्त्रीमाथि अदालतको अवहेलना मुद्दा लाग्यो ।

र, अदालतले आफै उपस्थित भएर लिखित जवाफ दिन आदेश दियो । त्यसै अनुसार आज अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले कहिल्यै अदालतको अवेलना नगरेको प्रष्टिकरण दिनुभयो ।

त्यतिमात्रै होइन, आफ्नो ११ बुँदे जवाफमा प्रधानमन्त्रीले आफूबाट अदालतको अवहेलना गर्ने काम नभएको र भविष्यमा पनि हुने छैन भन्ने प्रतिवद्धता जनाउनुभएको छ । अदालतमा उपस्थिति बाध्यात्मक भए पनि उपस्थितिलाई अदालतप्रतिको सम्मान भनेर पुष्टि गर्ने प्रधानमन्त्रीले प्रयास गर्नुभएको छ ।

बोल्न पाउने भएकोले बोलेँ
प्रधानमन्त्रीमाथि अदालतमा विचाराधीन मुद्दामा बोलेर दबाब दिएको र अवहेलना गरेको भनेर आरोप लागेकोमा प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्नुभएको छ । बरु संसद पुनर्स्थापना हुन सक्दैन भनेर आफूले बोल्न पाउने भएकैले बोलेको उहाँले जिकिर गर्नुभएको छ ।

लिखित जवाफमा प्रधानमन्त्रीले भन्नुभएको छ– मैले मुद्दा जित्छु, मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ । कानून व्यवसायीबाट समेत यसरी नै बहस गर्ने भएकाले कुनै मुद्दाको पक्षबाट मुद्दाबारे व्यक्त विचारलाई अदालतको अवहेलनाको विषय बनाउन नमिल्ने प्रधानमन्त्रीको तर्क छ ।

पूर्वाग्रह राखियो, निवेदन खारेज होस्
अदालतप्रति आफ्नो सम्मान रहेको प्रष्टिकरण दिएका प्रधानमन्त्रीले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर अवहेलनाको मुद्दा हालिएको भन्दै मुद्दा खारेजीको माग गर्नुभएको छ । उहाँकै शब्दमा निवेदनको दावी दुषित छ ।

आफ्नो वक्तव्यको बीच बीचबाट शब्द निकाली फूलबुट्टा भरी निवेदन दिइएको भन्दै प्रधानमन्त्रीले दायर निवेदन न्याय प्राप्तिको उद्देश्यका लागि नभै अन्य आशयबाट प्रेरित भएको जिकिर गर्नुभएको छ । अदालतप्रति सम्मान रहेको पुष्टि गर्न प्रधानमन्त्रीले आफू स्वतन्त्र न्यायपालिकाकै लागि १४ वर्ष जेल बसेको समेत तर्क गर्नुभएको छ ।

सस्तो लोकप्रियताका लागि मुद्दा हालेको दाबी
आफू विरुद्धको मुद्दालाई प्रधानमन्त्रीले सस्तो लोकप्रियताका लागि गरिएको भन्दै यो काम आम प्रचलन जस्तो देखिएको भन्दै नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्ता कामले कार्यकारी प्रमुख आफू र सम्मानित अदालतको समय खेर गएको उहाँको दावी छ । त्यति मात्रै होईन यस्ता मुद्दा लिँदा न्याय सम्पादनमा समेत असर पर्ने प्रधानमन्त्रीको तर्क छ । आफूले खास कुनै कानून व्यवसायीको नाम नलिएको, बहस गर्न वा न्याय सम्पादनमा अवरोध नगरेको उहाँको प्रष्टिकरण छ ।

प्रचण्ड-नेपाल समूहमाथि हमला
प्रचण्ड नेपाल समूहमाथि खनिँदै आएका प्रधानमन्त्री ओलीले अदालतमा जाँदा पनि प्रचण्ड-नेपाल समूहमाथि निशाना साँध्नुभएको छ । आफूबाट अदालतको सम्मान भएको तर प्रचण्ड-=नेपाल समूहबाट नभएको भनेर प्रधानमन्त्रीले यसमा अदालतको ध्यानाकर्षण गर्नुभएको छ । प्रचण्ड-नेपाल समूहको नाम नलिए पनि प्रधानमन्त्रीले भन्नुभएको छ–अदालतबाट हुने कार्यका विषयमा अन्य केही व्यक्तिहरुले सार्वजनिक अभिव्यक्ति दिएजस्तो यो यस्तो हुन पर्छ नभए आन्दोलन गर्छ, कसैलाई कारवाही गर्छु जस्ता दवावमूलक र निन्दनीय शब्द प्रयोग गरेको छैन ।’

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले बाटोको म्यादले ७ दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन प्रधानमन्त्रीलाई आदेश दिएको थियो । तर आदेशको म्याद माघ २ गते आइतबार मात्रै प्रधानमन्त्रीको नाउँमा तामेली भएको थियो । त्यसको ५ दिनपछि प्रधानमन्त्री आफूले अवहेलना नगरेको भन्ने जवाफ सहित अदालतमा उपस्थित हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *