Main News

संसद विघटनविरुद्धको मुद्दामा आज पनि एमिकस क्युरीले राय दिने

हिमालय टिभी
२०७७ फागुन ६ गते ९:०७
संसद विघटनविरुद्धको मुद्दामा आज पनि एमिकस क्युरीले राय दिने

६ फागुन २०७७ काठमाडौं । अदालतको सहयोगी एमिकस क्युरीले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिँदैछ ।

यही ४ गतेदेखि एमिकस क्युरीका सदस्यहरुले आफ्नो राय दिन शुरु गरेका हुन् । पहिलो दिन बद्रीबहादुर कार्की र हिजो दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्नुभएको थियो । खरेल र मैनालीको राय बाझिएको थियो ।

खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गर्नुभएको थियो । मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गर्नुभएको थियो ।

आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ ।

एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।

सर्वोच्चले यस विषयमा राय लिनका लागि पाँच सदस्यीय एमिकस क्युरी झिकाएको थियो । एमिकस क्युरीमा नेपाल बार एसोशिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली हुनुहुन्छ ।

यसैगरी सर्वोच्च अदालत बार एसोशिएसनको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला एमिकस क्युरीमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *