Main News

कमिसनमा कुरा मिल्यो, २० लाख डोज कोरोनाविरुद्धको खोप किन्ने सरकारको निर्णय

हिमालय टिभी
२०७७ फागुन ५ गते ७:३४
कमिसनमा कुरा मिल्यो, २० लाख डोज कोरोनाविरुद्धको खोप किन्ने सरकारको निर्णय

५ फागुन २०७७ काठमाडौं । सरकारले २० लाख डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको छ ।

तीन साताअघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

अब फेब्रुअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । भारतीय पक्षको समेत समन्वयमा प्रतिडोज चार डलरमा खोप दिन सेरम सहमत भएको थियो । तर भक्तानीमा सहमति जुट्न नसक्दा खरिद प्रक्रिया अन्योलमा परेको थियो ।

सेरमले सबै पैसा भुक्तानी भएपछि मात्र खोप दिने बताएको थियो । सार्वजनिक खरिद ऐनका कारण त्यो सम्भव नभए भएपछि मन्त्रिपरिषद्ले बाटो खुला गरेको हो ।

मन्त्री त्रिपाठीका अनुसार अब ८० प्रतिशत रकम भुक्तानी गरेपछि उसले खोपमा ब्याच नम्बर लगाउन थाल्ने र बाँकी रकम दिएपछि खोप नेपाल आउने छ ।

खोप आएपछि समुदायमा गएर ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयले २३ फागुनबाट खोप लगाउने तयारी गरेको छ ।

खोप खरिदको कमिसनका कारण पनि खरिद प्रक्रियामा बिलम्ब भएको थियो । स्वास्थ्य सेवा विभागमार्फत आएको प्रस्तावमा प्रतिडोज ४० सेन्ट कमिसन राखेपछि स्वास्थ्य मन्त्री असन्तुष्ट बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *