Main News

संसद विघटनविरुद्धको रिटमा आज एमिकस क्युरीले बहस गर्ने

हिमालय टिभी
२०७७ फागुन ४ गते ७:३९
संसद विघटनविरुद्धको रिटमा आज एमिकस क्युरीले बहस गर्ने

४ फागुन २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि आज एमिकस क्युरीले राय प्रस्तुत गर्ने भएका छन् ।

हिजो वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको हो ।

रिटमाथि अब आजदेखि एमिकस क्युरीले आफ्नो राय प्रस्तुत गर्नेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो ।

नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन हुनु भएको छ । एमिकस क्युरीको बहस सकिएपछि संवैधानिक इजलासले फैसला सुनाउनेछ ।

आइतबार र सोमबार दुई दिनसम्म निवेदकको जवाफी बहस भएको हो । बहस गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनःस्थापना भएन भने भविष्यमा मुख्यमन्त्रीहरु पनि तानाशाह बन्ने जिकिर गर्नुभएको छ ।

९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय तानाशाहको संज्ञा दिँदै नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाह जन्मिने बताउनुभयो । उहाँले मुलुकमा अरु तानाशाह जन्मिन नदिन अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने जिकिर गर्नुभयो ।

संसद विघटनको निर्णय राजपत्रमा प्रकाशन हुनुभन्दा अघि संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै भण्डारीले उक्त प्रस्ताव पनि वैध रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *