राजनीति

संसद विघटनको विरोधमा देशभर कांग्रेसको प्रदर्शन र सभा, कस्ले कहाँ के भने ?

हिमालय टिभी
२०७७ फागुन ३ गते १८:३४
संसद विघटनको विरोधमा देशभर कांग्रेसको प्रदर्शन र सभा, कस्ले कहाँ के भने ?

३ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशैभर विरोध प्रदर्शन र सभा गरेको छ । सम्बोधन गर्न विभिन्न जिल्ला पुगेका केन्द्रीय नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही लाद्न खोजेको भन्दै चर्को आलोचना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो । भैरहवामा भएको विरोध सभामा सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसला आफ्नो पार्टीलाई मान्य हुने बताउनुभयो । उहाँले सर्वोच्च अदालतप्रति विश्वास गर्नुपर्ने दोहार्‍याउनुभयो ।

दाङमा भएको कार्यक्रममा महामन्त्री शशांक कोइरालाले पार्टीमा आपसी मेल भए दुनियाँको कुनै पनि ताकतले हराउन नसक्ने दावी गर्नुभयो । महामन्त्री कोइरालाले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताउनुभयो ।

झापामा भएको कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति उत्तरदायी नभएको बताउनुभयो । प्रधानमन्त्रीले संविधान र कानून मिचेर मरपरी गरिरहेको आरोप लगाउनुभयो ।

विराटनगरमा भएको कार्यक्रममा नेता महेश आचार्यले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राजनीतिक अपराध भएको बताउनुभयो । नेता आचार्यले अलोकतान्त्रिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई दण्डित गर्नुपर्ने समेत बताउनुभयो ।

चितवनको भरतपुरमा भएको कार्यक्रममा नेता गगन थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताउनुभयो । नेता थापाले कसैको प्रभावमा नपरी निर्णय गर्न अदालतलाई सुझाव दिनुभयो ।

भक्तपुरमा भएको विरोध सभामा कांग्रेस नेता अर्जुन जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेर सत्ता कव्जा गर्न खोजेको आरोप लगाउनु भयो ।

संसद विघटनलाई असंवैधानिक भएको बताइरहेको कांग्रेसले आज विरोधमा देशभर प्रदर्शन र सभा गरेको हो । यद्यपी सभापति देउवा र अन्य नेताको धारणा भने फरक फरक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्