Main News

संसद विघटनविरुद्धको मुद्दाः भोलिदेखि एमिकस क्युरीको बहस शुरु हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ३ गते १८:१९
संसद विघटनविरुद्धको मुद्दाः भोलिदेखि एमिकस क्युरीको बहस शुरु हुने (भिडियो रिपोर्टसहित)

३ फागुन २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि निवेदकका तर्फबाट जवाफी बहस आज सकिएको छ ।

हिजो र आज दुई दिनसम्म निवेदकको जवाफी बहस भएको हो । आज बहस गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनःस्थापना भएन भने भविष्यमा मुख्यमन्त्रीहरु पनि तानाशाह बन्ने जिकिर गर्नुभएको छ ।

९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय तानाशाहको संज्ञा दिँदै नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाह जन्मिने बताउनुभयो ।

अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै उहाँले यो नजीर कायम भएका प्रदेशहरुमा समेत अविश्वास प्रस्ताव नआउने दाबी गर्नुभयो । उहाँले मुलुकमा अरु तानाशाह जन्मिन नदिन अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने जिकिर गर्नुभयो ।

संसद विघटनको निर्णय राजपत्रमा प्रकाशन हुनुभन्दा अघि संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै भण्डारीले उक्त प्रस्ताव पनि वैध रहेको बताउनुभयो ।

प्रतिनिधिसभा विघटन गरेर सरकारले अपराध गरेको पनि भण्डारीले आरोप लगाउनुभयो । रिटमाथि अब भोलिदेखि एमिकस क्युरीको बहस शुरु हुनेछ ।

यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो ।

नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन हुनु भएको छ । एमिकस क्युरीको बहस सकिएपछि संवैधानिक इजलासले फैसला सुनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *