Main News

अविश्वास दर्ता गरेर जनविश्वासमा तातोपानी खन्याउने काम भयोः मुख्यमन्त्री राई

हिमालय टिभी
२०७७ फागुन ३ गते १६:३६
अविश्वास दर्ता गरेर जनविश्वासमा तातोपानी खन्याउने काम भयोः मुख्यमन्त्री राई

३ फागुन २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गर्नु भएको छ ।

प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावलाई जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले संसदीय व्यवस्थाको प्रचलित नियमविपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकतासम्बन्धी प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने बताउनुभयो ।

प्रचण्ड नेपाल–समूहले दर्ता गरेको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल भने हुन सकेको छैन । प्रदेश सभा बैठक यही फागुन ९ गते बोलाइएको छ । प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाँडै टुङ्गो लगाउने मुख्यमन्त्री राईको दाबी छ ।

कार्यक्रममा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकार सफल भएको दाबी गर्नुभयो ।

यसैबीच, प्रदेश १ को तेस्रो वार्षिकोत्सव मूल समारोह सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूह र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिस्कार गरेका छन् ।

प्रचण्ड–नेपाल समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताउनुभयो ।

वार्षिकोत्सवमा नेपाली कांग्रेसका नेता पनि गएनन् । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी हुन नसकेको बताउनुभयो । मुख्यमन्त्रीले संसद् छल्दै हिँडेका कारण पार्टीको तर्फबाट सहभागी नभएको कार्कीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *