आज देशभरको मौसम बदली हुने

३ फागुन २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली हुने बताएको छ ।
पश्चिमी वायुको प्रभावका कारण आज बिहान प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली देखिएको छ।
गण्डकी र बागमती प्रदेशमा आंशिक बदली र देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ।
यसैगरी राति पनि उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएको छ ।
महाशाखाले तापक्रममा गिरावट आउने हुँदा जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया