लैंगिक हिंसा अन्त्यका लागि कडा कानून निर्माण र प्रभावकारी कार्यान्वयन गर्न माग
२ फागुन २०७७ काठमाडौं । लैङ्गिक हिंसा अन्त्यका लागि कडा कानून बनाउन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसाविरुद्धका अभियन्तासँग गरेको अन्तर्क्रियाका सहभागीले लैङिगक हिंसाका घटना बढिरहे पनि दोषीमाथि कारबाही हुन नसकेको बताए ।
उनीहरुले बालिका र जेष्ठ नागरिकमाथि बलात्कार गर्नेलाई आजिवन कैदको व्यवस्था हुनुपर्ने, अपराधिक घटनामा समुदायमै मेलमिलाप गराउने र उजुरी लिन नमान्ने प्रहरी प्रशासनमाथि पनि कारबाही चलाउनुपर्नेमा जोड दिए ।
छलफलमा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सीता पौडेलले महिलामाथि हुने घरेलु हिंसा हेर्ने गरी पारिवारिक अदालत गठन गर्नुपर्ने बताउनुभयो । उहाँले अरु अदालतमा महिला इजलासको पनि व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीले कानूनमा लिखित रुपमा महिलाका हक अधिकार सुनिश्चित गरिए पनि तल्लो तहमा ध्यान नदिनाले हिंसाका घटना बढेको बताएका छन् ।
देशका विभिन्न ठाउँमा बालिका तथा युवती बलात्कार र हत्याका घटना बढ्दै गएका छन् । तर प्रहरी प्रशासनले अपराधी पत्ता लगाउन नसकेको भन्दै काठमाडौंमा दैनिकजसो प्रदर्शन भइरहेका बेला संसदीय समितिले यसबारे चासो राखेर सरोकारवालाहरुसँग छलफल गरेको हो ।
प्रतिक्रिया