धर्म र पशुपतिनाथलाई राजनीतिक स्वार्थमा प्रयोग नगर्न चेतावनी (भिडियो रिपोर्टसहित)
२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले धर्म र पशुपतिनाथ जस्तो धार्मिक विषयलाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
प्रचण्ड–नेपाल समूहले आफ्ना नेताहरुको भनाइलाई बंग्याइएको भन्दै पशुपतिनाथ र जनताको धार्मिक आस्थाप्रति सम्मान रहेको प्रष्टिकरण दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले धर्म र पशुपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग र तुच्छ स्वार्थका लागि दुरुपयोग नगर्न पनि चेतावनी दिनुभएको छ ।
उहाँले भन्नुभयो – ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौँ र त्यसका निम्ति हामीले संघर्ष पनि गरेका हौँ । हरेक व्यक्तिले धर्म मान्न पाउने छुट छ र हरेक व्यक्तिले आफ्नो सनातनदेखिको वा आफ्नो विवेक अनुसारको धार्मिक आस्था अनुसार अगाडी बढ्न पाउने र त्यसलाई मान्न पाउने छुट छ र त्यसको हामी सम्मान गर्दछौँ । त्यस्तै पशुपतिनाथ विश्वभरका हिन्दूहरुको आराध्यदेवका रुपमा लिइन्छ र सबै हिन्दूहरुको आस्थाको केन्द्र हो । त्यसकारण त्यसको पनि हामी उच्च सम्मान गर्छौ । तर हाम्रा नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गर्ने, यस्तो संवेदनशील पक्षहरुलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग गर्ने काम नगर्न पनि हामी सम्बन्धित सबैलाई अनुरोध गर्न चाहन्छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पशुपतिनाथमा पुगेर पूजा अर्चना गरी सुनको जलहरी लगाउने घोषणा गरेपछि प्रचण्ड–नेपाल पक्षले ओलीले धर्मनिरपेक्षता त्यागेको आरोप लगाएको थियो भने माघ २८ गतेको काठमाडौंको आमसभामा अधिकांश वक्ताले ओलीको पशुपतिनाथ भ्रमणबारे कडा टिप्पणी गरेका थिए ।
नेता रघुजी पन्तले पशुपतिमा क्षमापूजा गर्दा पनि वंशनाश भएको प्रसंग निकाल्दै ओलीको पनि पशुपतिनाथले रक्षा नगर्ने भन्दै बोल्ने पशुपतिनाथ जनताले नै सबैलाई बचाउने बताउनुभएको थियो । तर यही अभिव्यक्तिलाई लिएर ओलीका समर्थक र केही धार्मिक संस्थाले पन्तको चर्को आलोचना गरेका थिए ।
विश्व हिन्दू महासंघलगायतका संस्थाले नेताहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हिन्दू धर्म र पशुपतिनाथको अपमान गर्नेलाई बहिस्कार गर्न आह्वान गरेकै बेला प्रवक्ता श्रेष्ठले यस्तो स्पष्टीकरण दिनुभएको हो ।
प्रतिक्रिया