Main News

संसद पुनर्स्थापना गरे मुलुक अस्थिरतातर्फ जाने प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १ गते १७:०५
संसद पुनर्स्थापना गरे मुलुक अस्थिरतातर्फ जाने प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेशद्धारा आज बुटबलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानसम्मत र विशेषाधिकार प्रयोग गरेर आफूले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको हो । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षडयन्त्र हुन थालेपछि आफुले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “ संविधानविपरीत होइन बिल्कुल संविधानसम्मत ढंगले विघटन भएको छ । म लगभग दुई तिहाई अर्थात् ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले विघटन गरेपछि अर्को कुनै विकल्प छैन । मलाई चलाउन नदिएपपछि, मैले चलाउन नसक्ने अवस्था भएपछि र देश अस्थिरतातर्फ धकेलिने अवस्था भएपछि मैले संसद विघटन गरेँ । काम गर्न नदिने, अस्थिरतातर्फ लाने, लोकतान्त्रिक प्रणाली र प्रक्रिया चल्न नदिने, अलोकतान्त्रिक अस्वस्थ प्रक्रियातर्फ देशलाई धकेल्ने, ती प्रयासहरु जब आफ्नै भित्रबाट हुन थाले, मैले बहुमतको प्रधानमन्त्रीको हिसाबले संसद विघटन गर्नुप¥यो । र त्यो संविधान सम्मत छ । संविधानको धारा ७६ १ अन्तर्गतको सरकारले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम विघटन गरिएको हो । धारा ८५ ले भने अनुसार विघटन गरेको हो । प्रधानमन्त्रीको विशेषाधिकारको प्रयोग गरेर विघटन गरेको हो । त्यसकारण यो संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ ।”

अदालतलाई दबाब दिने अनेक प्रकारका काम भएको उल्लेख गर्दै उहाँले अदालतले मुलुकलाई अस्थिरतातर्फ धकेल्नेछैन भन्ने विश्वास आफुले लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मैले विश्वास लिएको छु । अस्थिरतातर्फ देशलाई फर्किन दिनु हुँदैन । अब कुनै पार्टीको बहुमत रहँदैन यसपछि यदि संसद पुनर्स्थाना हुने हो भने । बहुमत नरहेपछि किनबेच, मोलतोल शुरु हुने, अनुचित समीकरण शुरु हुने, बाँकी डेढ बर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्छ । त्यसैले अब अलमलिने होइन सोझै जनतामा जनादेशका लागि जानुपर्छ । ”

बहुमत र समानुपातिकमा ५० लाख मत ल्याउने
प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भ¥याङ बनाएको भन्दै उहाँले आफुलाई लोकप्रिय छौ भन्नेहरु चुनावसँग किन डराएको भन्ने प्रश्न गर्नुभयो । उहाँले आफूहरुले निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो “यदि कसैलाई आफू लोकप्रिय छौ भन्ने लाग्छ भने जनमतमा आउनुहोस् । माछे हेर्ने मात्रै किन ? गनौ ला नि बाकसबाट मतपत्रै निकालेर गनौला नि । कसको समर्थनमा कति भन्ने ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौ घटाएर देखाउनुहोस् न त्यो मत । हामी प्रत्यक्षतर्फ बहुमत सिट ल्याउँछौ घटाएर देखाउनुहोस् न । किन आत्तिनुभएको चुनावबाट ?”

आफुले दलहरु आन्दोलित र विभाजित भएको बेला ५० बर्षभन्दा अगाडि एक तारे एकीकरणको अभियान शुरु गरेको र ३ बर्ष अगाडि माओवादी केन्द्र र एमालेलाई मिलाएर एउटा सशक्त कम्युनिष्ट पार्टी बनाउने अगुवाई गरेको दावी गर्दै देश बनाउने नभई आफू बन्ने उद्देश्य बोकेकाहरुले काम गर्न नदिएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले देश बनाउन र स्वभिमान उठाउन नभई नेपालको नक्सा प्रकाशित गर्ने नेतृत्व गरेपछि आफ्ना विरोधीहरु आत्तिएको र आफुलाई प्रधामन्त्रीबाट हट्नु प¥यो भनेको बताउनुभयो ।

पार्टी नफुटेको र फुट्दैन भन्ने कुरा सभाहरुमा हुने उपस्थितिले देखाएको भन्दै उहाँले आफ्नो व्यक्तिगत स्वार्थ, गुटबन्दी गर्ने, उद्देश्य नमिलेका र देश बनाउने सपना नबोकेका, समृद्धि र देश बनाउने उद्देश्यलाई अस्वीकार गर्ने तत्वहरु मात्रै बाहिरिएको बताउनुभयो ।

प्रचण्ड–नेपाल समूहले विगतमा पार्टीभित्र बसेर गाली गरेको, रेडियो, टिभीमा गएर मनपरि बोलेको र अहिले पार्टी बाहिर गएर मनपरि बोलेको उहाँले बताउनुभयो । पार्टी सुद्धिकरण गर्नुपर्ने आवश्यकता परिरहेका बेला प्रचण्ड–नेपाल समूह बाहिर गएर महान सुद्धिकरणका लागि ढोका खोलेको बताउनुभयो । अब पार्टी सुद्धिकरण भई अनुशासित र गतिशील ढंगले विचार बोकेको पार्टीको रुपमा अब पार्टी अघि बढेको दाबी गर्नुभयो । केही मानिस पार्टी छोडेर गएको र कठै बरा भन्नुपर्ने मानिसहरु नगएको जिकिर पनि उहाँले गर्नुभयो ।

जनसभागिता हेर्न आमन्त्रण
प्रधानमन्त्री ओलीले जनसभागिता र जनसभा हेर्न बुटबल आउन प्रचण्डलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “३ दिन अगाडि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि मान्छे हेर्न जनसभागिता हेर्न यहाँ आउ केपी ओली भनेर मलाई केही मान्छेहरुले भनेका थिए । आज म देशभरको होइन लुम्बिनी प्रदेशको यो बुटवलको सभा हेर्न आउनका लागि आग्रह गर्न चाहन्छु । आउनुहोस् जनसहभागिता कस्तो हुन्छ । ”

बलात्कारीलाई नछोडिने
उहाँले निर्मला, भागरथी लगायतका बलात्कारी र हत्याका आरोपितहरुलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । काठमाडौमा महिला हिंसा अन्त्य गरी बलात्कारी र हत्यारालाई कारवाही गर्न दिनहुँ आन्दोलन र विरोध प्रदर्शन भइरहेका बेला लुम्बिनी पुगेर प्रधानमन्त्रीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानी मुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने बताउनुभएको हो । उहाँले ठिलै भए पनि सबै घटनाका दोषी अपराधीलाई सरकारले पक्राउ गर्ने आवश्वासन दिनुभयो ।

गाली पुराण
केही दिन अगाडी काठमाडौमा प्रचण्ड–नेपाल समूहले गरेको सभालाई उहाँले गाली पुराणको संज्ञा दिनुभयो । माघ २८ गते आयोजित सभामा केपी ओलीलाई धपाउने भन्दै सबै वक्ताले लाइन लागेर गाली पुराण चलाएको उहाँको भनाइ थियो । गाली पुराण खण्ड १ देखि १७ वटा गाली पुराणका खण्ड सुनाएको उहाँले उल्लेख गर्नुभयो । आफुले प्रचण्ड–नेपाल समूहसँग कुनै प्रतिष्पर्धा गर्नु नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो“उनीहरुसँग कुनै प्रतिष्पर्धा गर्नु छैन । उनीहरुसँग विचार मिल्दैन । सिद्धान्त मिल्दैन । उनीहरु आफ्नालाई भलो गर्न चाहन्छन् । शासनसत्ता कब्जा गर्न चाहन्छन् । हामी देश र जनताको भलो गर्न चाहछौ ।”

सुर्य चिन्हको विवाद आवश्यक छैन
प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सुर्य चिन्हबाहेक अरु चिन्हबाट चुनाव नलडेको र आफूहरुले नै दर्ता गराएको भएकाले सुर्य चिन्ह कसको भन्नेमा विवाद गर्नुनपर्ने दाबी गर्नुभयो । २०४७ सालपछि निर्वाचन आयोगमा सुर्य चिन्ह दर्ता गराउने आफूहरु नै भएको र प्रचण्डले जीवनमा एकपटक पनि सुर्य चिन्हबाट चुनाव नलडेको भन्दै उहाँले कुन आधिकारिक भन्ने छलफल गरिरहनुपर्ने विषय नभएको बताउनुभयो । देशमा न्याय नमरेको भन्दै उहाँले आफूहरु सत्यको मार्गमा रहेकाले जीत निश्चित रहेको बताउनुभयो । आक्रोश आवेश र रिस रागबाट सञ्चालित नभई देश बनाउन हिँडेकाले आफूहरुले जित्ने दाबी गर्नुभयो

लालकिल्ला
उहाँले प्रचण्ड–नेपाल समूहको उद्देश्य देश बिगार्ने रहेको बताउनुभयो । विगतमा प्रचण्डले युवाहरुमा विभिन्न प्रलोभनसहितका सपना देखाएको तर आज त्यो जमाना नरहेकाले भ्रमको जादु नचल्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “यो राणा शासन होइन । यो पञ्चायतीकाल होइन । प्रचण्डले झुक्काउनुभएको थियो १० बर्ष सम्म । प्रचण्डले कस्तो गर्नुभएको थियो ? एउटा गाउँगाउँमा म सानो हुँदाखेरी आउँथ्यो एउटा बाक्सा लिएर, क्यामरा जस्तो लिएर । अनि भन्थ्यो कलकत्ताका हाउडाका पुल देखो, दिल्लीका कुतुमिनार देखो, लालकिल्ला देखो, आग्राका ये देखो । उहाँले हाम्रा युवाहरुलाई त्यसै गर्नुभयो । क्रान्तिका सपना देखो, परिवर्तनका सपना देखो, समाजवादका सपना देखो मिरमिरे गर्दा १० पैसा गायब । अब त्यो जमाना गयो । उहाँले लालकिल्ला र कुतुमिनार देखाउने हाउडाका पुल र ताजमहल देखाउने समय गयो । उहाँले जुन १० पैसा पचाउनुभयो १० बर्षसम्म पचाउने समय गयो । अब जनता अलमलिदैनन् । नअलमलिकन अगाडी बढौ ।”

उहाँले लुम्बिनी प्रदेशमा भएका विकास निर्माण तथा पुरातात्विक महत्वका विषयमा सरकारले गरेका कामहरुको पनि चर्चा गर्नुभयो । उहाँले लुम्बिनी र कविलवस्तुको ऐतिहासिक धार्मिक महत्वबारे पनि प्रवचन दिनुभएको थियो । उहाँले डिजिटल नेपाल निर्माणका लागि गरेको कामको फेयरिस्तसहित सामाजिक सुरक्षाका क्षेत्रमा सरकारले काम गरेको, सामाजिक सुरक्षाको दायरा विभिन्न ढंगले बढेको पनि बताउनुभयो । उहाँले भूमिहीन र सुकुम्बासी लगायत सम्पूर्ण भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

सरकारले गरेको असाधारण विकास देखेर विरोधीहरु आत्तिएको अनि आगामी निर्वाचनमा व्यहोर्नुपर्ने हारबाट डराएर देशी विदेशी प्रतिक्रियावादी षड्यन्त्रहरु झुमझुमाएर आफूविरुद्ध आएको दाबी उहाँले गर्नुभयो । उहाँले फागुन ३ गते दोश्रो पटक प्रधानमन्त्री भएको ३ बर्ष पुगेको अवसरमा सरकारले गरेका कामहरु सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *