संसद विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री ओलीका निजी कानून व्यवसायीको बहस सकिँदै
२९ माघ २०७७ काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका वकिलको बहस आज सकिंदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ओली पक्षका वकिललाई आज एक घण्टा बहसका लागि समय दिनुहुनेछ । ओली पक्षका अधिवक्ता रमेश बडालले पनि इजलासले तोकेकै समयमा आफ्नो पक्षको बहस सकिने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीको तर्फबाट ८ दिनमा ४१ जनाले बहस गरेका छन् । जसमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसहित ११ जना सरकारी र ३० जना निजी वकिलले बहस गरेका हुन्।
हिजो १५ जनाले बहस गरेका थिए भने केही वकिलले नाम मात्रै टिपाएर हिँडेका छन्। आज करिव एक घण्टा ओली पक्षका वकिलले समय पाउने छन्। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फका वकिलले बहस गर्ने तयारी छ।
सापकोटाको तर्फबाट तीन जना वकिलले बहस गर्नेछन् । उनीहरुको बहस पनि आजै सकिने आँकलन गरिएको छ। सभामुखको तर्फको बहस सकिएपछि प्रधानमन्त्रीका वकिलले आइतबार जवाफी बहस गर्नेछन्।
निवेदक पक्षका वकिलले पुनः छोटो समय पाउने छन्। त्यसपछि एमिकस क्युरीको बहस हुनेछ। एमिकस क्युरीको बहस सकिएपछि अदालतले फैसला सुनाउनेछ। अहिले जारी प्रक्रिया हेर्दा अदालतले फागुनको दोस्रो सातामा फैसला सुनाउने आँकलन गरिएको छ।
प्रतिक्रिया