राजनीति

अदालत र निर्वाचन आयोगलाई प्रचण्डको धम्की :-… नभए आँधी आउँछ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २८ गते २०:५२
अदालत र निर्वाचन आयोगलाई प्रचण्डको धम्की :-… नभए आँधी आउँछ (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्दै आफ्नो पक्षमा निर्णय गर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिएको छ ।

काठमाडौंमा हजारौं कार्यकर्ता र शुभेच्छुक उतारेर प्रचण्ड–नेपाल समूहले संसद पुनर्स्थापना गर्न सर्वोच्च अदालत र पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगलाई धम्की दिएको हो । सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना नभए विद्रोह हुने र कसैले पनि थेग्न नसक्ने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा परेको भन्दै प्रचण्डले निर्वाचन आयोगको भूमिकामाथि गम्भीर आशंका व्यक्त गर्नुभयो । सर्वोच्च अदालतलाई जस्तै प्रचण्डले संवैधानिक अंग निर्वाचन आयोगलाई पनि आफ्नो पक्षमा निर्णय गर्न दबाब दिनुभयो ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा परेर निर्णय नगर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएको भन्दै नेपालले अन्यथा निर्णय नगर्न पनि नेपालले चेतावनी दिनुभयो ।

प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पनि आफ्नो पार्टी नै आधिकारिक भन्दै छिटो निर्णय सुनाउन निर्वाचन आयोगलाई दबाब दिनुभयो । सभामा भएको जनउपस्थितिले आधिकारिकता पुष्टि गरिसकेको खनालको दावी छ ।

संसद विघटनसँगै पार्टी विभाजन भएपछि नेकपाको ओली र प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गर्दै आ–आफ्नो पक्षमा निर्णय गराउन न्यायालय र आयोगलाई दबाब दिँदै आएका छन् । यही शिलशिला अन्तर्गत आज प्रचण्ड नेपाल समूहले संसद पुनर्स्थापनाको विरोधमा शक्ति प्रदर्शन गरेर न्यायालय र निर्वाचन आयोगमाथि दबाब बनाउने कोशिस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्