भ्रष्टाचार नियन्त्रण सबैको साझा उद्देश्य बन्नुपर्छः प्रधानमन्त्री ओली
२८ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा उद्देश्य हुनुपर्ने बताउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई भ्रष्टाचारमुक्त देश भनेर चिनाउनुपर्ने बताउनुभयो ।
भ्रष्टाचार देशको साझा शत्रु भएको भन्दै उहाँले भ्रष्टाचार हुनै नदिने गरी काम गर्नुपर्ने बताउनुभयो । राज्यलाई नोक्सान पारेर कसैले आफ्नो व्यक्तिगत ढुकुटी भर्न नपाओस र विकास निर्माणका लागि कुनै अवरोध उत्पन्न नहोस् भनेर सरकारले काम गरिरहेको उहाँको दावी छ ।
निर्दोष व्यक्तिलाई आरोप लगाएर मुद्दा दायर हुनसक्नेतर्फ सचेत बन्न आयोगलाई सुझाव दिँदै उहाँले दोषी हो भन्ने पक्का भएपछि मात्र मुद्दा दायर गर्न आयोगलाई आग्रह गर्नुभयो ।
कानुनको निष्पक्ष कार्यान्वयन, समाजमा शान्ति–सुव्यवस्था र सबैलाई न्यायका लागि अख्तियारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । अख्तियारको काम कारबाही प्रभावकारी बनाउन सरकारको सहयोग रहने भन्दै प्रधानमन्त्री ओलीले कुनै पनि निकाय र संवैधानिक अंगलाई सरकारको लाचार छायाँ बन्न नदिइने बताउनुभयो ।
कतिपयले अख्तियार सरकारको लाचार छायाँ भयो भनेर हल्ला फैलाएका भन्दै उहाँले त्यो गलत भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले संवैधानिक आयोगले ढुक्क भएर काम गर्न र सरकारले कुनै हस्तक्षेप नगर्ने दाबी गर्नुभयो । सबै निकाय र व्यक्तिले स्वच्छ, स्वतन्त्र, निर्वाध रुपमा काम गर्न पाउनुपर्ने भन्दै उहाँले कसैको त्रास धम्कीबाट नडहराउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया