राजनीति

ओलीले राजीनामा नदिए बालुवाटार र सिंहदरबार घेराउ गर्ने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २८ गते १७:४०
ओलीले राजीनामा नदिए बालुवाटार र सिंहदरबार घेराउ गर्ने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ ।

आज नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख जनता आउने बताउनुभएको हो । विरोध सभामा पाँच लाख जनता सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ हेरेर ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधानको मर्म, भावना र नेपाली जनताको चाहनाविपरीतका काम भए दुर्भाग्य हुने समेत बताउनुभयो । विरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताउनुभएको छ । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफुहरु आधिकारिक पार्टी भनि दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उहाँले त्यसलाई हिसाब नगरी केपी ओलीको धम्क्याइलाई मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उहाँको भनाइ छ । संवैधानिक निकायमा पुगेका मान्छेहरुले खेलाची ठाने देश र जनताले दुःख पाउने भन्दै अध्यक्ष प्रचण्डले त्यस्तो गल्ती कसैले गर्नु नहुने बताउनुभयो । उहाँले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रहसमेत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु फर्किन थालेको समेत बताउनुभयो । ओली सरकारका दुई जना मन्त्री प्रचण्ड–नेपाल समूहमा फर्किनका लागि आफुसँग वार्ता गरिरहेको उहाँले दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राम मन्दिर बनाउने बताएको भन्दै उहाँले उक्त भूमि राम जन्मभूमि भएको ऐतिहासिक र पुरातात्विक रुपमा प्रमाणित गर्न अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफुसँग पचासौँ वर्षसँगै काम गर्ने नेता कार्यकर्ताहरुलाई अपमान गरेर गल्ती गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि दिनुभएको छ । ओलीले भूमि आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणीसमेत गर्नुभयो । ओलीले नभई सुकुम्बासीहरुलाई आफुहरुले जमिन दिने उहाँको भनाइ छ ।

उहाँले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । संयुक्त आन्दोलन गर्ने अवसर आएको भन्दै अवसर गुम्न नदिन उहाँको आग्रह छ । त्यसनिम्ति हातेमालो गर्न तयार रहेको उहाँको भनाइ छ ।

उहाँले छिमेकी देशहरुबाट आफुहरुको पक्षमा सद्भाव चाहेको पनि बताउनुभयो ।

यसैबीच नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आज विशाल प्रदर्शन गरेको छ ।

प्रतिनिधसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गरेको हो । सुन्धाराबाट निस्किएको विशाल जुलुस भृकुटीमण्डप नजिकैको सडकमा पुगेर सभामा परिणत भएको थियो ।

जुलुसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले गर्नुभएको थियो । त्यसअघ काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुश सुन्धारामा एकत्रित भएका थिए ।

विरोधसभामा लाखौं मानिस सहभागी भएको प्रचण्ड–नेपाल समूहको दाबी छ । सभामा सहभागीलाई भाषण सुन्न सजिलो होस् भनेर ‘पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा तीनवटा डिजिटल स्क्रिन राखिएको थियो । रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा पनि माइक राखिएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा आन्दोलन गर्दै आएको छ। उसले यसअघि माघ ९ गते पनि काठमाडौंमा विरोध सभा गरेको थियो।

नेकपाले विरोध सभामा आउनेको संख्या धेरै भएको भन्दै घोषित जुलुसको रुट पनि परिवर्तन गरिएको थियो । जुलुसका कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्