भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा मृत्यु हुने दश नेपालीको पहिचान खुल्यो

२८ माघ २०७७ काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा परेर मृत्यु हुने १० जना नेपालीको पहिचान भएको छ । अझै ११ नेपाली बेपत्ता छन् ।
उत्तराखण्डस्थित चमोलीमा गत आइतबार हिमनदी फुटेर धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी आएको थियो । बाढीमा स्थानीय सडकमा मजदूरी गर्दै आएका १० नेपाली कामदारको मृत्यु भएको थियो ।
बाढीमा परेर विद्युत आयोजना र सडक निर्माणमा खटिएका नेपाली र भारतीय मजदूर र स्थानीयसहित दुई सयभन्दा धेरै बेपत्ता भएका थिए । मजदूरलाई ठेकेदारले दिएको टोकन नम्बरका आधारमा १० जना नेपालीको शवको पहिचान भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
मृतक सबै नेपाली जुम्ला र कालिकोट जिल्लाका हुन् । मृतकमा गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर सिंह, मकर सिंह, मदन सिंह, नरेन्द्रबहादुर र रमेश नेपाली छन् ।
बेपत्तामध्ये ३२ भन्दा बढी मजदूर र स्थानीयको शव फेला परिसकेको छ । बाढीमा परेर बेपत्ताहरुको अझै पनि खोजी भइरहेको र अझै झण्डै दुईसय जना हराइरहेका उद्धारमा संलग्न भारतीय अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया