Main News

आज नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा विशाल प्रदर्शन गर्दै

हिमालय टिभी
२०७७ माघ २८ गते ६:११
आज नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा विशाल प्रदर्शन गर्दै

२८ माघ २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा दोस्रो पटक शक्ति प्रदर्शन पनि गर्दैछ ।

प्रतिनिधसभा विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको विरोध गर्दै आएको सत्ताधारी नेकपाकै प्रचण्ड–नेपाल पक्षल‍े आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

त्यसको पूर्वसन्ध्यामा हिजो स्वयंसेवकले मार्चपास गरेका छन्। आजको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। भृकुटीमण्डपमा हुने विरोधसभामा दुई लाखभन्दा बढी मानिस उपस्थित हुने नेकपा प्रचण्ड–नेपाल समूहको दावी छ ।

सभामा सहभागीलाई भाषण सुन्न सजिलो होस् भनेर ‘पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा तीनवटा डिजिटल स्क्रिन राखिने भएको छ। रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा माइक राखिनेछ।

हिजो बसेको सचिवालय बैठकले कार्यक्रमलाई भव्य र सफल बनाउने निर्णय गरेको थियो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा आन्दोलन गर्दै आएको छ।

यसअघि माघ ९ गते पनि काठमाडौंमा विरोध सभा गरिएको थियो। नेकपाले विरोध सभामा आउनेको संख्या बढी हुने भएको भन्दै घोषित जुलुसको रुट पनि परिवर्तन गरेको छ।

मूल जुलुस सुन्धारा र केशरमहलबाट र सहायक जुलुस अन्य विभिन्न स्थानबाट निकाल्ने तयारी छ । सुन्धाराको जुलुसको नेतृत्व प्रचण्ड–नेपालले गर्नुहुनेछ भने केशरमहलको जुलुसको नेतृत्व संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई लगायत नेताले गर्नुहुनेछ ।

सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुहुनेछ । प्रदर्शनका कारण आज उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने भएको छ।

ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *